सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १२ साउन ।
रितुङ खोलाको कटानका कारण म्याग्दीको ओखरबोट गाविस १ मा पर्ने फुलबारी गाउँ जोखिममा परेको छ ।
नहर बगाएपछि दाजुङखोला लघुजलविद्युत परियोजना बन्द
बेनीमा कालीगण्डकी नदी किनारमा गरिएको तटबन्ध पनि बाढीले बगायो
लमसुङमा निरन्तर पहिरो
ज्यामरुककोटको स्यानालेकमा एक घरपरिवार विस्थापित
तिन दिनदेखिको निरन्तरको बर्षासंगै खोलामा आएको बाढीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा अवस्थित फुलबारी गाउँ जोखिममा परेको हो । नदी किनारमा बनाइएको ग्याबियन पर्खाल भत्काएर खोलाले बस्तीतर्फ कटान गरिरहेको स्थानीय बासिन्दा रामु गौतमले जानकारी दिनुभयो ।
फुलबारीका बासिन्दाहरु घर छोडेर माथिल्लो क्षेत्रमा गएर रात कटाएका छन् । घरका सामानहरु सारेका छन् । चुडामणी सापकोटा, बेलकुमारी पुन र निस्कोटका थर्कमान पुनको घर नजिकैबाट खोला बगेको छ ।
कटानका कारण फुलबारी गाउँका ५० घरधुरी जोखिममा परेको स्थानीय बासिन्दा गौतमले बताउनुभयो । जिविस, भुसंरक्षण कार्यालय र रेडक्रसको सहयोगमा नदी किनारमा लगाइएको तटबन्ध बाढीले बगाएको छ । संयौ रोपनी खेतीयोग्य जमिन पनि कटानको चपेटामा परेको छ ।
यसैगरी बाढीले नहर बगाएपछि ओखरबोट ३ च्युरीबोटमा रहेको ३० किलोवाट क्षमत्ताको दाजुङखोला लघुजलविद्युत परियोजना मंगलबारदेखि बन्द भएको छ । मुहान क्षेत्रमा करिब १५० मिटर नहर बाढीले बगाएको हो ।
नहर भत्कीएर विद्युत उत्पादन बन्द हुँदा ओखरबोट, च्युरीबोट, छाप, महभि र रुमको ठोट्नेरी गाउँका ३५० घरधुरी अन्धकार भएको परियोजनाका अध्यक्ष नन्दबहादुर राम्जालीले जानकारी दिनुभयो ।
दाजुङखोलामा बाढी आएपछि च्युरीबोटमा दधिलाल कडेलले सञ्चालन गर्नुभएको कुटानीपिसान मिल जोखिममा परेको छ । त्यसैगरी चिउरीबोटका राम बिक, मनबहादुर पुन र जोखे दर्जीको खेतबारी बाढीले कटान गरेको छ ।
उता लुलाङको जुकेपानीमा पाँच दिनदेखि निरन्तर गैरहेको पहिरोका कारण तिन घरपरिवार विस्थापित भएका छन् । लमसुङ गाउँको शिरानतर्फ पहिरो खस्न थालेपछि त्यहाँका बासिन्दा रातको समयमा अन्यत्र गएर बस्ने गरेको लमसुङका केशरबहादुर पुर्जाले बताउनुभयो । यस्तै कालीगण्डकी नदीमा आएको बाढीले सदरमुकाम बेनी बजार संरक्षणका लागि गरिएको तटबन्ध बगाएको छ । नदी किनारमा लगाइएको करिब पाँच मिटर तटबन्ध बगाएपछि बजारतर्फ कटान हुने जोखिम बढेको छ ।
यसैगरी बेनपा ३ स्यानालेकमा मंगलबार साँझ पाखोबाट खसेको पहिरोले शान्ता गौतमको गोठ पुरीनुका साथै उनको घर जोखिममा परेकाले विस्थापित भएको त्यहाँबाट हिराबहादुर थापाले जानकारी दिनुभयो । तस्विर सुमन गौतम