ताजा समाचार:
Search

बर्षा र बाढी पहिरोले म्याग्दीको जनजिवन प्रभावित,बेनीका तिन वटा कार्यालयमा बाढी पस्यो

                                                                                  सबै सडक अवरुद्ध
कालीगण्डकी र म्याग्दी नदीमा पानीको सतह बढ्यो  ।

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ११ साउन ।
गएराती देखिको बर्षाका कारण म्याग्दीको जनजिवन प्रभावित भएको छ । बर्षासंगै विभिन्न ठाउँमा गएको पहिरोले व्यक्तिका घरहरु जोखिममा पर्नुका साथ बेनीको सरकारी कार्यालयहरुमा बाढी पसेको छ ।

पहिरोले जिल्लाका सबै सडकहरु अवरुद्ध हुदा ग्रामिण बस्तीको सदरमुकामसंग यातायात सम्र्पक बिच्छेद भएको छ । म्याग्दी र कालीगण्डकी नदीमा पानीको सतह यस वर्षकै उच्च भएको छ । बेनीको मंगलाघाटमा रहेको भुसंरक्षण, पशु सेवा र वन कार्यालयमा पाखोबाट आएको बाढीले क्षत्ती पु¥याएको छ ।

बिहान ५ बजेतिर बाढी आउँदा भुसंरक्षण कार्यालयको प्रशासन र जिन्सी शाखाको कोठामा रहेका कागजपत्र भिजेको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो । कार्यालय पछाडिपट्टि रहेको पाखोबाट बाढी आएको हो ।DSC02220बेनी–अथुङ्गे र बेनी–मंगलाघाट सडक निर्माणका क्रममा माटोको ब्यवस्थापन नगर्दा बाढी आएको अधिकृत पौडेलले बताउनुभयो । सडक किनाराको पाखोमा फालीएको माटो बगेर प्राकृतिक गल्छी भन्दा बाहीरबाट बगेपछि कार्यालयहरुमा बाढी पसेको हो । कार्यालय परिसर हिलाम्मे भएको छ । नेपाली सेना र कर्मचारीहरु हिलो तथा बाढी पन्छाएका छन् ।

यसैगरी बेनी–मंगलाघाट सडकको डिलतर्फको भाग चिरा परेकाले त्यसको तल रहेका सरकारी कर्मचारी आवास क्षेत्र पनि बाढी पस्ने र पहिरो खस्ने जोखिम रहेको छ । सडकबाट आउने बाढीले सो क्षेत्रमा रहेको सुकम्बासी बस्तीका करिब एक दर्जन टहराहरु पनि जोखिममा परेका स्थानीय बासिन्दा रहमद खाँले बताउनुभयो ।

कालीगण्डकी र म्याग्दी नदीमा बाढीको सतह यस वर्षकै उच्च भएको छ । जलेश्वरमा खसेको पहिरोले बेनी–गलेश्वर र बाबियाचौर लाम्पाटाको पहिरोका कारण बेनी–दरवाङ सडक अवरुद्ध भएको छ । बेनी–जोमसोम सडक अन्तरगत दानाको घट्टेखोलामा आएको बाढीले सडक कटान गरेको छ ।DSC02201यसअघि काभ्रेभिरमा खसेको पहिरोले सिधा सवारी सञ्चालन हुन नसकेको बेनी–जोमसोम सडकको अन्य ठाउँमा पनि पहिरो, कटान र बाढीले अस्तव्यत भएको छ । सवारी साधन नचल्दा काम बिशेषले हिडेकाहरु समस्यामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले पहिरोको जोखिम रहेका अर्मन, ओखरबोट, मुनाको दर, लुलाङको लमसुङ, देविस्थान लगायत ठाउँका बासिन्दालाई सर्तकता अपनाउन अनुरोध गरेको छ । यसैगरी नदी किनारमा नजान पनि अनुरोध गरिएको छ ।

रितुङ खोलामा आएको बाढीले कटान गर्दा ओखरबोट १ फुलबारी र निस्कोटको साउबोटका चुडामणी सापकोटा, बेलकुमारी पुन, थर्कमान पुनल लगायत छ घर जोखिममा परेका छन् । फुलबारीमा कमलनाथ शर्मा र पूर्णप्रसाद शर्माको खेती बाढीले कटान गरेको छ ।

रुम र दाजुङ खोलामा आएको बाढीले करिब १० घरपरिवारको बसोबास रहेको रुमको अदीभारा गाउँ पनि जोखिममा परेको छ ।