सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,साउन ९ गते ।
भकिम्ली २ मरेकमा व्यवसायिक सुन्तला खेती गर्दै आएका ईन्द्रबहादुर थापाले सहुलियत ब्याजदरको कृषि कर्जाका लागि बेनीमा रहेका बैङ्कका शाखामा दर्जनौ पटक धाउनुभयो तर सो सुबिधा पाउनुभएन् ।
बैङ्कले उपलब्ध गराउने ६ प्रतिशत ब्याजदरको कृषि कर्जा पाउन प्रक्रिया पुरा गर्न झन्झट लागेपछि थापाले बेनीकै सहकारी संस्थाबाट १६ प्रतिशत ब्याजदरमा छ लाख रुपैयाँ ऋण लिएर सुन्तला खेती विस्तार गर्नुभयो ।
कृषकहरुले ब्यक्ति र सहकारीबाट महँगो ब्याजदरमा ऋण लिएर तरकारी, फलफुल खेती तथा गाईभैसी, भेडाबाख्रा र कुखुरापालनमा लगानी गर्न बाध्य बनिरहेको अवस्थामा बैङकले सहुलियत ब्याजदरको कृषि कर्जा परिचालन गर्न सकेका छैनन् ।‘धितो राख्न सडकले छोएको जग्गा, दर्ता भएको व्यवसाय, गाविसको सिफारिस र छिमेकीको सहमती चाहिनुपर्ने लगायतका प्रक्रिया पुरा गर्दा कृषकलाई झन्झट भएको छ’ थापाले भन्नुभयो ‘बैङ्कको ढिलासुस्ती र झन्झटिलो प्रक्रियाले गर्दा कृषकले सहुलियत ब्याजदरको ऋण पाउन सकेका छैनन् ।’
बैङ्कहरुले कुल लगानीको १२ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीति बनाएको सरकारले सहुलियत ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउनका लागि अनुदानको ब्यवस्था गरेको छ । सरकारले तिन प्रतिशत ब्याज तिर्न अनुदान उपलब्ध गराउने र ६ प्रतिशत कर्जा लिने कृषक आफैले तिर्नुपर्ने ब्यवस्था छ । चालु आव देखि सरकारले दिने व्याज अनुदानमा वृद्धि गरि चार प्रतिशत पु¥याएको छ । यो वर्ष कृषकले पाँच प्रतिशत व्याजदरमा कृषि कर्जा पाउँछन् ।
सहुलियत ब्याजदरमा एक जना कृषकले एक करोड रुपैयाँ सम्म कर्जा लिन सक्छन् । तर अधिकांश कृषकहरु सहुलियत ब्याजदरमा पाइने कृषि कर्जाको बारेमा अनभिज्ञ छन् । बेनपा ८ मा भैसीपालन गरेर दूध बेच्दै आएका कृषक दुर्गाप्रसाद पौडेलले बैङ्कबाट सहुलियत ब्याजदरमा ऋण पाउने सुबिधाको बारेमा जानकारी नभएको बताउनुभयो ।
व्यवसाय दर्ता नहुने, उमेरको हदबन्दी, धितोयोग्य जग्गाको अभाव लगायतका कारणले कृषकलाई सहुलियत ब्याजदरको कर्जा पाउन समस्या परेको छ । धितोका लागि सडकले छोएको घरजग्गालाई प्राथमिकता दिइनुले कृषकलाई समस्या भएको हो । बैङ्कका कर्मचारीहरु भने सहुलियत ब्याजदरको कर्जा लिन कृषकनै नआएको बताउँछन् ।
कृषि विकास बैङ्कको बेनी शाखाका प्रबन्धक धनेन्द्र अधिकारीले कृषक सुबिधा खोज्न नआएपछि सहुलियत ब्याजदरमा प्रवाह गर्नका लागि प्राप्त बजेट फिर्ता भएको बताउनुभयो । शाखामा गत आर्थिक वर्षमा ६ प्रतिशत ब्याजदरमा लगानी गर्न ४० लाख रुपैयाँ बजेट आएको थियो ।
‘सहुलियत ब्याजदरको कर्जा लिन जम्मा एक जना कृषक आउनुभएको थियो । उहाँले व्यवसाय दर्ता लगायतका कागजात पेश गर्न सक्नुभएन’ शाखा प्रबन्धक अधिकारीले भन्नुभयो ‘अरु कोही पनि नआएपछि प्राप्त बजेट फिर्ता भयो ।’ कृषकहरुलाई जानकारी नभएकाले बजेट भएपनि कर्जा लगानी हुन नसकेको अधिकारीले बताउनुभयो ।
सहुलियत ब्याजदरको कृषि कर्जा पाउन ४५ वर्षसम्म उमेर भएका, व्यवसाय दर्ता भएको, ब्यवसायिक योजना बनाएको हुनुपर्ने लगायतका व्यवस्था रहेको छ । गत आर्थिक वर्षमा सहुलियत ब्याजदरमा लगानी गर्न राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा प्राप्त एक करोड रुपैयाँ बजेट पनि परिचालन हुन सकेन् ।
९.५ प्रतिशत ब्याजदरको नियमित योजनाको कर्जा प्रवाह भैरहेपनि सहुलियत ब्याजदरको कर्जा प्रती कृषकलेनै चासो नदिएको राष्ट्रिय वाणिज्य बैङ्कका शाखा प्रबन्धक धु्रबराज पनेरुले बताउनुभयो । बैंक कर्मचारी ऋणिले कृषि कर्जा लिएर गैरकृषि र अनुत्पादक क्षेत्रमा लगानी गर्ने, नियमित ब्याज र किस्ता नबुझाउने जस्ता समस्याले जोखिम मोल्न डराउने गरेका छन् ।
बेनीमा विभिन्न बैंकका १५ वटा शाखाले वित्तिय सेवा दिइरहेका छन् । यसैगरी दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा पनि बैङ्कको शाखा छन् । साहास र आँट भएका कृषकहरुसंग धितो राख्न सडकले छोएको घडेरीयोग्य जग्गा र सहरी क्षेत्रमा घर नहुँदा बैंकले विश्वास नगरेको बास्कुनाका कृषक तिलक गुरुङ बताउनुहुन्छ । झन्झटिलो कागजी प्रक्रियाका कारण कृषि कर्जाको योजना कृषक र बैंकका लागि ‘जोगी देखि भैसी डरायो, भैसी देखि जोगी डरायो’ भनेजस्तै बनेको गुरुङले बताउनुभयो ।
बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रवाहका क्रममा सहरी क्षेत्र एवं सडक वरपरका घरजग्गा भन्दा पनि योजना र आयस्तरलाई प्राथमिकता दिनुपर्ने सिंगाका दुग्ध उत्पादक कृषक रमेश केसीको भनाई छ । बंैक कर्मचारीहरुले भुगोल र सुबिधाका आधारमा विभेद नगरी योजना तथा वास्तवीकता बुझेर लगानी गर्न सकेमा कृषि कर्जा परिचालनमा सहज हुने कृषक केसीको भनाई छ । कृषक र बैंकबीचको अविश्वासको वातावरण हटाउन र दुरी घटाउन पनि उत्तिकै आवश्यक छ ।
कृषि कर्जाको बारेमा कृषक स्तरमा प्रचारप्रसार र बैङ्कलाई लगानी गर्न सहजिकरण गरिएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । ‘बैङ्कहरुले कृषि कर्जाको सिद्धान्त, उद्देश्य र प्रक्रियाको बारमो कृषकलाई स्पष्ट पार्न नसकेको पाइयो’ अधिकृत रिजालले भन्नुभयो ‘कृषकले सहज र बिना झञ्जट कर्जा सुबिधा पाउनुपर्छ । लगानी गर्न नसक्ने हो भने नितीगत व्यवस्था सुधार गर्न माथिल्लो तहमा छलफल गर्नुपर्छ ।’
लगानीको पर्खाईमा रहेका कृषकहरुलाई कृषि कर्जा सहज रुपमा प्रवाह गराउन सकेमा धेरै प्रोत्साहन मिल्ने बरिष्ठ कृषि विकास अधिकृत रिजालको भनाई छ । कृषकले व्यवसायमा लगानीसंगै उत्पादन पनि बढ्ने सम्भावना हुन्छ । व्यवसाय विस्तारका लागि कृषकलाई पुँजी लगानीको टड्कारो आवश्यकता देखिएको छ ।