विकल्प न्यूज/बेनी
म्याग्दी,साउन ९ गते ।
म्याग्दीको पोखरेबगर देखि घार हुदै शिख जोड्ने सडक निर्माण कार्यले तिब्रता पाएको छ ।
जिविसद्धारा सडक बोर्डको बजेट मार्फत सञ्चालन गरिएको आयोजनाको अनुगमनमा न्युन भौतिक प्रगती भएको विषयमा गत असार दोस्रो साता गरिएको अनुगमन टोलीले सचेत र सञ्चार माध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका थिए ।अनुगमन टोलीले सचेत बनाएको र सञ्चार माध्यमले ढिलासुस्तीको विषयमा दवाव सृजना, जिविसले ताकेता गरेपछि उपभोक्ता समितिले आयोजना निर्माणमा तिब्रता दिएको हो । एक महिनाअघि अनुगमन टोली जाँदा करिब दश प्रतिशत प्रगति भएको आयोजनाको साउन पहिलो सातासम्म ४८ प्रतिशत भौतिक प्रगति भएको जिविसका प्राबिधिक कमल चोखालले बताउनुभयो ।
उहाँका अनुसार जिविसले आयोजना सञ्चालन गर्न उपभोक्ता समितिसंग एक वर्ष म्याद थप गरेको छ । ३३ लाख ३९ हजार ८३६ रुपैयाको आयोजनाको हालसम्म १५ लाख ३० हजार ५६० रुपैयाँ बराबरको काम भएको प्राबिधिक चोखालले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार १२८ घनमिटर सोलीङ गर्नुपर्नेमा ३३६.९१ घनमिटर सोलीङ भएको छ ।
दुई हजार ८७८ घनमिटर माटो काट्ने र १२४ घनमिटर पहाड काटीएको छ । सोलीङ फाउन्डेशनका लागि २३८ घनमिटरको काम भएको छ भने १४९.५ घनमिटर ग्यावियन पर्खाल निर्माण भएको छ । ७.७ घनमिटर रिटेनीङ वाल निर्माण र घार क्षेत्रमा ९४.४३ घनमिटर ग्राभेल गरिएको छ ।
घार, खिवाङ र शिख क्षेत्रमा छुट्टा, छुट्टै प्याकेजमा काम भैरहेको छ । उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर गर्बुजाले निर्धारीत समय अगावै आयोजनाको काम सम्पन्न गरेर घार शिख सडकमा सहज रुपमा सवारी आवागत हुन सक्ने बनाउने बताउनुभयो ।