ताजा समाचार:
Search

खोप्रामा चौरीको रगत पिउनेको लर्को (फोटो फिचर)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, ८ साउन ।
समुद्रि सतहदेखि तिन हजार पाँच सय मिटरको उचाईमा अवस्थित म्याग्दीको शिख गाविसको खोप्रा लेकमा सञ्चालन भएको चौरी गाईको आलो रगत पिउने मेलामा सर्वसाधारणको आकर्षण बढेको छ ।DSC00952चौरी गाईको आलो रगत पिएमा विभिन्न रोग निको हुनुका साथै शारिरीक स्फुर्ती बढ्ने जनविश्वास छ । चौरीको रगत पिएर परम्परागत बिधिबाट उचार गराएको हेर्नकै लागी चौरी मेलामा पुग्नेहरुको संख्या पनि बढ्दो छ ।DSC00939मेलामा हिमाली क्षेत्रको यार्सागुम्बा, जटामसि, निरमसी, पाँचऔले लगायतका जडिबुटी पाईने चरनमा चरेका चौरीगाईको आलो रगत बिक्री हुन्छ । ग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरीक कमजोरी र हाडजोर्नी सम्बन्धि रोग निको हुनका साथै शारिरीक स्फुर्ती बढ्ने चौरीको रगत पिउन खोप्रा लेक पुगेकी नारच्याङकी लिलादेवी पुनले बताउनुभयो ।DSC00999

पुन विगत पाँच वर्षदेखि खोप्रा लेकमा सञ्चालन हुने मेलामा सहभागि हुदै आउनुभएको छ । शिखको लरेनी, खोप्रा लेक र बयलीखर्कमा हरेक बर्षको साउन र फागुन महिनामा चौरी गाईको आलो रगत पिउने मेला लाग्छ । नांगी पाउद्धार संयुक्त चौरीपालक कृषक समूहले शुक्रबारदेखि खोप्रा लेकमा आयोजना गरेको चौरी मेलामा सहभागिको ओईरो लागेको छ ।

म्याग्दीको शिख, घार, नारच्याङ, दोवा, दाना, भुरुङ तातोपानी, हिस्तान, राम्चे, घतान, पुलाचौर लगायत ठाउँका साथै काठमाडौ र पोखराबाट चौरीको आलो रगत पिउन मेलामा पुग्छन् । साउन ११ गतेसम्म सञ्चालन हुने मेलामा सहभागि हुन दुई सय जना भन्दा बढी सर्वसाधारण खोप्रा लेकमा पुगेका छन् ।DSC00983  धेरैजसो रोग निको हुने र शारीरीक स्फुर्ती बढ्ने विश्वासका साथ चौरीको मेलामा पुग्छन् । चौरी गाईको घाँटीबाट रगत निकालीने र ठाडो घाँटी लगाएर सनक्कै रगत पिएको फरक प्रकृतिको मेलाको दृष्य अवलोकनका लागि मेला स्थल पुग्ने पनि उत्तिछै भेटिन्छन् ।DSC00963चौरी गाईका घाँटीमा बिशेष प्रकारको छुराले कोपेर रगत निकाल्ने गरिन्छ । एउटा चौरी गाईको शरीरबाट २० देखि २५ गिलासम्म रगत निकाल्दा समेत चौरी गाईको स्वास्थ्यमा कुनै असर नपर्ने आम्ची पर्तबहादुर चोचाङगीले बताउनुभयो । चौरीको रगत निकाल्ने काम गर्नेलाई आम्ची भनिन्छ ।

प्रतिगिलास एक सय रुपैयाका दरले चौरीगाईको आलो रगत बिक्री हुने गरेको छ । यसरी भएको आम्दानी राम्चेको नांगीमा रहेको हिमाञ्चल उच्च मावि र शिखको पाउद्धार मावि सञ्चालनमा प्रयोग हुने नांगी पाउद्धार संयुक्त चौरीपालन समितिका सचिव भिम तिलीजा पुनले बताउनुभयो ।

चौरी गाईले आफ्नो रगत दान गरेर हजारौको उपचार गराउनका साथै दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षा दिएको छ । शिख गाविसको खोप्रा लेक क्षेत्रमा २०५३ सालमा मुस्ताङबाट ल्याएर चौरीपालन सुरु गरिएको थियो । एक सिजनमा मेला सञ्चालन गरेर डेढ लाख रुपैयाको हाराहारीमा हुने आम्दानी दुई वटा विद्यालयलाई बराबर बाड्ने गरिएको छ ।

खोप्रा लेकमा साढे दुई सय चौरी पालीएका छन भने चौरीको आलो रगत पिएर उपचार गराउनेको आकर्षणसंगै शिखकै बयली क्षेत्रमा पनि किसानले व्यक्तिगत लगानी र राम्चेको महरे क्षेत्रमा नौमती बाजा समूहले चौरीपालन सुरु गरेका छन् ।