सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ साउन ।
पहिरोका कारण म्याग्दीको भकिम्ली ९ मा पर्ने तोराखेत गाउँ रित्तीएको छ । बस्ती देखि तल र माथि दुवैतर्फबाट पहिरो बग्न थालेपछि तोराखेतका बासिन्दा गाउँ छोडेर अन्यत्र सरेका हुन् ।
पहिरोले घर खेत जोखिममा पारेपछि तोराखेतका २५ घरधुरी बिस्थापित भएका छन् । अक्करे भिरको शिरानमा रहेको तोराखेत गाउँका बासिन्दालाई एक दशकदेखि पहिरोले दिएको छ । पहिरो नियन्त्रणको प्रयास सफल नभएपछि पुस्तौदेखि बस्दै आएको घर, कजाउदै आएको खेतबारी छोडेर विस्थापित भएको स्थानीय बासिन्दाले बताएका छन् ।
बेनी नगरपालीका ४ बगरफाँटमा घडेरी किनेर घर बनाई बसेका डिलबहादुर सापकोटा पहिरोले तोराखेत बासीको उठीबास लगाएको बताउनुहुन्छ । करिब पाँच हेक्टर क्षेत्रफल जमिन धाँजा फाटेर चिरा चिरा परेको छ । खेतबारी उपभोग गर्न सक्ने अवस्थामा छैन् । गाउँ रित्तीएको छ ।
खेतबारी बाँझै छ । खेतीयोग्य जमिन झाडीमा परिणत भएको छ । पहिरोले खेदेपछि तोराखेतका बासिन्दाले भकिम्ली, बेनी नगरपालीका ३ को भकुण्डेचौर र तमानेमा जग्गा किनेर बसेका छन् । जग्गा किन्न नसक्नेहरुले सरकारी जग्गामा टहरो बनाएर बसेका छन् ।
तोराखेतमा अधिकांश दलित समुदायको बसोबास थियो । पहाडमाथि रहेको भिरालो जमिनमा बग्ने भुमिगत पानीका कारण तोराखेतमा पहिरो गएको हो । जिल्ला भुसंरक्षण कार्यालय र नेपाल रेडक्रस सोसाईटी लगायतका निकायले पहिरो नियन्त्रणका लागि लाखौ खर्च गरेर ग्यावीयन पर्खाल लगाएपनि सफल हुन सकेन् ।खाद्यान्न, भाडाकुडा, पाल लगायतका राहत सामाग्री बाहेक बसोबास व्यवस्थापनका लागि सरकारी निकायबाट सहयोग नपाएको पहिरो पीडितहरुको गुनासो छ । तोराखेतको पहिरोले बेनी नगरपालीका ४ बगरफाँटको जरुवाटोलको बस्ती र संयौ रोपनी खेतीयोग्य जमिन जोखिममा परेको छ ।
गत वर्ष रोकीएको पहिरो पछिल्लो तिन दिनयता निरन्तर झरीरहेको छ । तोराखेतबाट खस्ने छहरोमा आउने ढुङ्गा, माटो, काठ सहितको लेदोले बगरफाँटको खोल्सामा गहिरो गल्छी बनाएको छ । ठूलो पहिरो खसेको अवस्थामा गल्छी बाहीर बाढी बग्ने र बस्ती तथा खेतबारीमा क्षत्ती गर्ने जोखिम रहेको नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका जरुवाटोलका बासिन्दा चन्द्रबहादुर घिमीरेले बताउनुभयो ।
नदी किनारमा रहेको जरुवाका २५ घरधुरी पहिरो र कटानको त्रासका कारण रातको समयमा नजिकैको गाउँमा गएर बस्न थालेका छन् । जुनसुकै बेला पहिरो खस्ने जोखिम रहेकाले सुरक्षीत ठाउँमा रहेको आफन्तको घरमा गएर सुत्ने गरेको स्थानीय बासिन्दा प्रकाश घिमीरेले बताउनुभयो ।
पहिरोको जोखिममा रहेका डिलकुमारी घिमीरे, तोपबहादुर कार्की, शिव कार्की, कृष्णप्रसाद शर्मा र मिनबहादुर घिमीरेको परिवारले घर छोडेका छन् । उनिहरु घरको सामान आफन्तकोमा सारेर बसेका छन् ।
बस्तीमाथिबाट खसिरहने पहिरो र घरनजिकैको किनारमा म्याग्दी नदीमा आउने बाढीका कारण त्रसीत भएको स्थानीय खिमबहादुर सापकोटाले बताउनुभयो । तोराखेतबाट खसेको पहिरोले बगरफाँटमा रहेको बेनी–बरंजा सडकमा गल्छी बनाएपछि यातायात सेवा अवरुद्ध भएको छ । सदरमुकाम बेनी बजार र बगरफाँटमा खानेपानी ल्याउने पाईप बगाएको छ । व्यक्तिगत, सिचाई पाईप र नहर पनि पहिरोले बगाएको छ ।