सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ साउन । म्याग्दीका राजनितिकर्मीहरुले संबिधान कार्यान्वयन र देशको सम्बृद्धीका लागि सहमतीमा अघि बढ्न शिर्ष नेताहरुलाई सुझाव दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ३८ औ स्मृती दिवस पारेर शुक्रबार नेकपा एमाले म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले राजनीतिक स्थिरताका लागि सहकार्य र सहमतीका अघि बढ्नुपर्ने बताएका हुन् ।
नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापाले राणाशासन र पञ्चायती ब्यवस्थाको अन्त्यका लागि कम्युनिष्ट र प्रजातान्त्रीक शक्तिको समन्वय गर्न पुष्पलालले अपनाएको नीति अहिले संबिधान कार्यान्वयन, पुननिर्माण, शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन र देशलाई सम्बृद्धीको बाटोमा अघि बढाउन सान्र्दभीक रहेको बताउनुभयो ।
उहाँले सत्ता परिवर्तनको खेल दुखद भएको भन्दै शिर्ष नेताहरु सहकार्य र सहमतीको भावना अनुसार संबिधान कार्यान्वयनमा जुट्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका कार्यबाहक सभापति केबी भण्डारी, राप्रपाका अध्यक्ष एकेन्द्र रावल र अखण्ड नेपाल पार्टीका डम्मरबहादुर बानियाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिव बालकृष्ण सुवेदीको सञ्चालन र उपाध्यक्ष देवेन्द्र केसीको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा प्रध्यापक तारानाथ शर्माले पुष्पलालले नेपाली राजनिति परिवर्तन गर्नुभएको योगदान तथा उहाँको बिचार र सिद्धान्तका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।