सन्तोष गौतम/विकल्प न्यूज
बेनी ६ साउन ।
पर्वतको लेकफाँट गाविसको लोप्रे र कुवापानीको सिमा क्षेत्रमा पर्ने पहाड चिरा परेर पहिरो खस्न थालेको छ ।
लेकफाँट गाविसको ४ नम्बर वडामा पर्ने सो पहाड चिरा परेर फेदीको बस्तीमा ढुङ्गा खस्ने र लेदो सहितको बाढी आएको छ । पहिरोका कारण माझफाँट ९ मुलघडेरीका चार घरधुरी उच्च जोखिममा परेका वडा नागरिक मञ्चका संयोजक गोविन्द खत्रीले बताउनुभयो ।
संयोजक खत्रीका अनुसार पहाडको १०५ मिटर लम्बाई र ६५ मिटर चौडाई क्षेत्रको जमिन चिरा परेको छ । चिरा परेको पहाड खसेमा बाँसखर्क र माझफाँट गाविसको संयौ हेक्टर खेतीयोग्य जमिनलाई असर गर्ने बिहीबार घटनास्थलमा गएको टोलीले जनाएको छ ।
चिरा परेको जमिनको दुरी पाँच मिटर १५ सेन्टिमिटर रहेको छ । लेकफाँट प्रहरी चौकी, लेकफाँट र माझफाँट गाविसका अगुवा तथा स्थानीय बासिन्दाको टोलीले पहाड चिरा परेको क्षेत्रको स्थलगत अध्ययन गरेको हो ।
मुलघडेरीका नगेन्द्रबहादुर, पदम कार्की, डेगबहादुर कार्की र रविन पुनको परिवारलाई सुरक्षित स्थानमा सर्न भनिएको वडा नागरीक मञ्चका संयोजक खत्रीले बताउनुभयो । निरन्तर ढुङ्गा खस्ने र पहाडको फेदीबाट लेदो सहितको बाढी आउन थालेपछि स्थानीयबासीको टोली जमिन चिरा परेको ठाउँको अध्ययनमा गएको हो । लोप्रेको गाउँ तस्वीर ठाकुरप्रसाद आचार्य