म्याग्दीका कृषकलाई करिब एक लाख फलफुलका बिरुवा वितरण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी साउन ३ गते ।
म्याग्दीका कृषकहरुलाई यस वर्ष करिब एक लाख फलफुलका बिरुवा वितरण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले ८० हजार र भुसंरक्षण कार्यालयले पन्ध्र हजार फलफुलका बिरुवा वितरण गरेका हुन् । कृषि विकास कार्यालयले ब्यवसायीक बगैचा स्थापना गर्ने कृषकहरुलाई पचास प्रतिशत अनुदानमा २२ हजार ५०० वटा सुन्तलाका बिरुवा वितरण गरेको छ ।

नयाँ बिरुवा रोपीएपछि ७५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार भएको प्राबिधिक सहायक श्यामराज क्षेत्रीले बताउनुभयो । यसैगरी भुसंरक्षण कार्यालयले पनि कृषि वनमैत्री खेतबारी संरक्षण कार्यक्रम अन्तरगत थप १५ हजार सुन्तला र कागतीका बिरुवा निशूल्क वितरण गरेको जनाएको छ ।

वितरीत बिरुवाबाट ५० हेक्टर क्षेत्रफलमा सुन्तला जात फलफुल खेती विस्तार भएको भुसंरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो । गत वर्षसम्म म्याग्दीको करिब छ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको थियो । कृषि विकास कार्यालयले बिस रुपैया प्रतिगोटा मूल्य पर्ने सुन्तलाका बिरुवा दश रुपैया छुट दिएको हो ।Biruwaदाना, नारच्याङ, घार, बेग, कुहुँ, भगवती, घतान, दग्नाम, भकिम्ली, सिंगा, बरंजा, ताकम, देविस्थान र बिम गाविसका कृषकलाई सुन्तलाका बिरुवा वितरण गरिएको प्राबिधिक सहायक क्षेत्रीले बताउनुभयो । कृषि बिकास कार्यालयले पचास प्रतिशत अनुदानमा ५७ हजार अलैचीका बिरुवा वितरण गरेको छ ।

दश रुपैया मूल्य पर्ने बिरुवालाई पाँच रुपैया छुट दिइएको हो । कुहुँ, देविस्थान, घतान, घार, ताकम र मुना गाविसमा पाँच हेक्टर क्षेत्रफलमा अलैची खेती विस्तार भएको छ । करेसावारीका लागि ढुवानी अनुदानमा ३०० आँप, ३०० अनार, १५० लिची र ७५ वटा अम्बाका बिरुवा वितरण गरेको कृषि विकास कार्यालयले जनाएको छ ।