नाचगान गरेर जुटाएको पैसाले गाउँमा विकास निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी साउन ३ गते ।
म्याग्दीको भुरुङ तातोपानी ८ ठूलोबगरका महिलाहरुले नाचगान गरेर जुटाएको नगद विकास निर्माण र जिविकोपार्जन सुधारका लागि परिचालन गरेका छन् ।

१२ वर्षअघि ठूलोबगरका महिलाहरुले मासिक पाँच रुपैयाँका दरले सुरु गरेको बचत अभियानबाट लाखौ रुपैया खर्च गरेर विकासका पुर्वाधार निर्माण, सामाजिक गतिबिधि सञ्चालन र आयआर्जनमा परिचालन भएको हो ।

मासिक बचत, लाहुरे स्वागत, गाउँमा हुने बिवाह, किरीया र छेवारमा श्रम गरेर प्राप्त हुने रकमबाट सामुदायीक भवन, सार्वजनीक शौचालय, प्रवेशद्धार निर्माण गरिएको ठुलोबगरस्थित मितेरी बचत आमा समूहका अध्यक्ष बिष्णुकुमारी परियारले बताउनुभयो ।Second Main News ko photoस्वस्फुर्त रुपमा आमा समूह गठन गरेका महिलाहरुले मासिक बैठक बस्ने र बचत गर्न थालेपछि नेतृत्व तथा क्षमत्ताको विकास भएको छ । उनिहरुले ठूलोबगर गाउँलाई मदिरा तथा जुवातास मुक्त बनाएर ठूलो सामाजिक परिर्वत ल्याएका स्थानीय अगुवा बुद्धी पुनले बताउनुभयो ।

आमा समूहको नेतृत्वमा पाँच लाख रुपैया लगानी गरेर दुई कोठे सामुदायीक भवन र भान्छाघर निर्माण भएको छ । सोही भवन परिसरमा कार्यक्रम सञ्चालन गर्नका लागि मञ्च निर्माण गरेका छन् । गाउँमा भित्र्ने पाहुनाको स्वागतका लागि हालै एक लाख ४० हजार रुपैया खर्च गरेर प्रवेशद्धार निर्माण गरेको अध्यक्ष परियारले बताउनुभयो ।

खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको सहयोगमा यसै वर्ष सार्वजनीक शौचालय निर्माण गरेको आमा समूहले मासिक रुपमा गाउँ सरसफाई गर्छन् । ८० हजार रुपैयामा भोज भतेरमा प्रयोग हुने भाडावर्तन किनेर भाडामा लगाएका छन् ।

भाँडावर्तनको भाडा, भोजभतेरमा श्रमदान वापत पाउने ज्याला, बिवाह, छेवार, किरीया, सांस्कृतीक कार्यक्रम, देउसीभैलो र लाहुरे स्वागतका क्रममा नाचगान गरेर संकलन हुने रकम समूहको प्रमुख आयस्रोत हो । भोजमा सबै मिलेर काम गर्न र पाउने ज्याला समूहको कोषमा जम्मा गर्छन् ।

आमा समूहको भवन परिसरमा बनभोज स्थल पनि रहेको छ । हाल १३ जनाको कार्यसमिति रहेको समूहले सात जना सदस्यहरुलाई घुम्ती कोषबाट एक प्रतिशत ब्याजदरमा एक लाख रुपैया परिचालन गरेका छन् । कोषमा हाल एक लाख रुपैया बचत रहेको छ । मासिक प्रतिसदस्य २० रुपैयाका दरले बचत गर्छन् ।

उनिहरुले पहिरो, आगोलागी, भुकम्प पीडित र जटिल रोगका बिरामीलाई उपचारमा आर्थिक सहयोग पनि गरेका छन् । जिल्ला र राष्ट्रिय स्तरमा नमुना काम गर्ने महिलाहरुलाई सम्मान गर्दै आएको आमा समूहले विद्यालय, मठमन्दिर लगायतका संस्थाहरुलाई पनि सहयोग गरेको छ ।
पक्कि सामुदायीक भवन र नदी किनारको बगरमा रहेका भौतीक संरचनाको संरक्षणका लागि सरकारी निकायमा पहल भैरहेको अध्यक्ष परियारले बताउनुभयो ।