सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३१ असार ।
बेनी नगरपालिका ५ डम्मरामा नयाँ प्रबिधिको खानेपानी आयोजना निर्माण भएको छ ।
बस्ती तल रहेको म्याग्दी नदीको किनारबाट पानी तान्ने प्रबिधि जडान गरेर आयोजना निर्माण भएको हो । डम्मराको फेदीमा रहेको निलढुंगा स्थित म्याग्दी नदी किनारबाट ९० मिटर माथि पानी तान्न जडान गरिएको उपकरणको शुक्रबार सफल परिक्षण भएको छ । नदी किनारमा बनाइएको ईनारमा विद्युतको सहायताले चल्ने (समसिवल वेल पम्प) जडान गरिएको छ । पम्पले तान्ने पानी ५० मिलीलिटर क्षमत्ताको पाईपबाट ३५० मिटर दुरी उकालोमा रहेको बिस हजार लिटर क्षमत्ताको टंकीमा संकलन गरि वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
बस्ती भन्दा तलको पानी माथि तान्ने प्रबिधिको प्रयोग भएको यो जिल्लाकै पहिलो खानेपानी आयोजना भएको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख ईञ्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रिय पुननिर्माण अभियान अन्तरगत सरकारको आठ लाख ९० हजार र समुदायको सात लाख ७० हजार रुपैयाँ लागतमा आयोजना निर्माण भएको हो । डम्मराका बासिन्दाले यसअघि प्रयोग गर्दै आएको तेलचापरेको मुहान गत वर्षको भुकम्पका कारण सुकेपछि खानेपानी आपूर्तीमा समस्या भएको थियो ।
आयोजना मार्फत डम्मराका ६९ घरमा धारा जडान गरेर खानेपानी वितरण गरीने उपभोक्ता समितिका अध्यक्ष फौजबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार हिउँदको सुख्खा याममा खानेपानीको अभाव हुँदा र सिचाईका लागि पनि यस आयोजनाको पानी प्रयोग गर्ने लक्ष्य राखिएको छ ।
स्थानीय बासिन्दाले श्रमदान गरेर आयोजनाको टंकी, ईनार, विद्युतीय उपकरण राख्ने भवन र मुख्य पाईपलाईन निर्माण गरिसकेका छन् । सहायक पाईपलाईन विस्तार गरेर घरघरमा धारा र मिटर जडान गर्ने काम भैरहेको छ ।
व्यक्तिगत धारा र मिटर जडान गर्न तिन हजार पाँच सय रुपैयाँ प्रतिघरधुरीका दरले नगद संकलन गरिने उपभोक्ता समितिका सहसचिव जंगबहादुर खत्रीले बताउनुभयो । नदी किनारको पानीलाई शुद्धिकरण गरेर वितरण गर्ने व्यवस्था मिलाइने समितिले जनाएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य