सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३१ असार ।
म्याग्दीको राम्चे ९ मा पर्ने काफलडाँडाको भिरबाट पुन–पहिरो खस्न थालेको छ ।
२०७२ जेठ १० गते राती सो स्थानबाट खसेको पहिरोले कालीगण्डकी नदी १६ घण्टासम्म थुनिनुका साथै २७ घरधुरीको बसोबास रहेको बैसरी बजार पुरीएर बगरमा परिणत भएको थियो । गत वर्ष पहिरो गएको ठाउँमा शुक्रबार बिहानदेखि पुन पहिरो खस्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले पुरीएको बगरमाथि टहरा हालेर बस्दै आएका स्थानीय बासीन्दालाई सुरक्षित स्थानमा सारीएको छ । सो स्थानमा जुनसुकै बेला पहिरो खस्ने जोखिम रहेकाले त्यहाँ ब्यापार ब्यवसाय गरेर बसेका तिन घरपरिवारलाई स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
भिमबहादुर कार्की, मनबहादुर पुर्जा र प्रेमबहादुर पुनको घर तथा पसल र बन्दोबस्तीका सामाग्री भगवती २ स्थित सुरक्षित स्थानमा सारेर बसोबासको व्यवस्था मिलाएको प्रहरी निरिक्षक कृष्णकान्त अधिकारीले बताउनुभयो ।
अधिकारीको नेतृत्वमा गएको १७ जना प्रहरीको टोलीले सामान ओसार्न सहयोग गरेको थियो । यसैबीच प्रहरीले कालीगण्डकी आसपासका बस्तीका बासिन्दालाई सचेत गराएको छ । आपतकालीन अवस्थामा परिचालन हुन सक्नेगरी उद्दार सामाग्री सहित प्रहरी टोली तैनाथ राखिएको प्रहरी निरिक्षक अधिकारीले बताउनुभयो ।पहिरोका कारण विस्थापित भएका २७ घरपरिवार मध्य तिन घरपरिवार पहिरोमाथि अस्थाई टहरा बनाएर बसेका थिए । छ घरपरिवार पिप्ले ४ राहुपारेको सामुदायिक वन क्षेत्रमा रहेको अस्थाई टहरामा बस्दै आएका छन् ।
धेरैजसो बेनी र पोखरामा डेरा लिएर बस्न थालेका छन् । पहिरोको जोखिम भएपनि पहिरो पीडितहरुले जिविकोपार्जनका लागि पुरानै ठाउँमा फर्कीएर व्यापार व्यवसाय गरेका थिए ।