भवन अभावमा पठनपाठन प्रभावित

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ असार ।
बेनी नगरपालिका ३ मा रहेको खड्क भवानी प्रावीमा भवन अभावका कारण पठनपाठन प्रभावित भएको छ ।

कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालयमा दुई वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । कक्षा १ र बालशिक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य टिकाराम दर्जीले बताउनुभयो ।
विद्यालयमा रहेका ६ वटा कोठा मध्य एक वटा पुस्तकालय र अर्को एउटा कोठा कार्यालय सञ्चालनमा प्रयोग भएको छ । कक्षा २ का विद्यार्थी खुलाचौर र चौतारीमा बसेर पढ्ने गरेका छन् । विद्यालयको निर्माणाधिन कक्षा कोठा भवन पनि पहिरोले क्षत्ती गरेपछि अलपत्र परेको छ । bikalpa news
असार १७ गते निर्माणाधिन भवन पछाडीको पाखोबाट खसेको पहिरोले दुई कोठे भवनको पर्खाल भत्काएर पुरीएको भवन निर्माण समितिका संयोजक समेत रहनुभएका विव्यस सदस्य परियारले बताउनुभयो ।

भवन निर्माणमा हालसम्म चार लाख बराबरको लगानी भैसकेको छ । पर्खाल लगाएर छानो छाउने अवस्थामा पहिरोले निर्माणाधिन भवन पुरीएको हो । भवन निर्माणका लागि जिविसको ७० हजार र बेनी नगरपालीका कार्यालयको ४० हजार रुपैया बिनियोजन भएको थियो ।
भवन निर्माण पुरा नभएपछि नगरपालीकाबाट प्राप्त हुने अनुदान पनि रोकीदा समस्या परेको परियारले बताउनुभयो । विद्यालयमा ६५ जना बालबालीका अध्ययनरत छन् । सबै विद्यार्थीहरु दलित समुदायका मात्रै छन् ।

यसैबीच सो विद्यालय परिसरमा रहेको खेलमैदानको डिलमा निर्माण भएको पर्खाल भत्कीन थालेपछि बस्तीलाई असर गरेको छ । खेलमैदानको पर्खाल भत्कीदा १० घर जोखिममा परेका छन् । खेलमैदान निर्माण र विद्यालय भवनको घडेरी बनाउँदा जथाभावी डोजर चलाएका कारण अहिले पहिरोको समस्या उत्पन्न भएको स्थानीय बासिन्दाले बताएका छन् ।