कालीगण्डकी करिडोरका पशुपालक कृषकलाई करिब ३४ लाख अनुदान

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ असार ।
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने कालीगण्डकी भेगका पशुपालक कृषकहरुले यस वर्ष करिब ३४ लाख रुपैयाँ अनुदान पाएका छन् । कृषकलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गरि पशुजन्य पदार्थको उत्पादन वृद्धी र प्रोत्साहन गर्न पशु सेवा कार्यालयले सो अनुदान उपलब्ध गराएको हो ।

घारको हिमालयन चिज उत्पादन सहकारी संस्थाले गाईपालन र भुरुङ तातोपानीको रुप्से कृषि सहकारी संस्थाले बाख्रापालनका लागि कृषि तथा ब्यापार आयोजनाबाट दशदश लाख रुपैयाँ लघु अनुदानमा छनौट भएका छन् ।DSC01833

यसैगरी भगवती, बेग, दोवा, भुरुङ्गतातोपानी, शिख, दाना र नारच्याङ गाविसका भेडापालन कृषक आवद्ध कालीगण्डकी भेडापालन समितिद्धारा स्थापीत भेडापालन स्रोत केन्द्रले छ लाख रुपैया अनुदान पाएको छ ।

पशु सेवा कार्यालयले दिएको अनुदानबाट एक लाख ५० हजार रुपैयाँको घुम्ती कोष स्थापना, घुम्ती भेडा गोठमा सोलार जडान, उन काट्ने, खसी पार्ने मेसीन खरिद, गोठालालाई अत्यावश्यक सामाग्री वितरण, पक्कि पोखरी र प्रोटेबल डिपीङ ट्याङकी निर्माण गरेको समितिका अध्यक्ष मेखबहादुर गर्बुजाले बताउनुभयो ।Bhedapalan Shrot Center (6)

शिखको खोप्रा लेकमा पालीएको चौरीहरुको खानेपानी व्यवस्थाका लागि ६० हजार रुपैया सहयोगमा पक्कि डुढ निर्माण भएको छ । शिख ९ गिवाङको प्रगतिशिल बाख्रापालन समितिमा आवद्ध ५० घरधुरी कृषकले पशु सेवा कार्यालयको सहयोगमा बाख्रापालन र खोर सुधार गरेका छन् ।

प्रतिकृषक दश हजार पाँच सय रुपैयाँ अनुदान र चार वटा बोका सहयोग पाएको समितिका अध्यक्ष पूर्णबहादुर पाईजाले बताउनुभयो । यसैगरी घारकी सिता बरुवालले युवा लक्षित कार्यक्रम अन्तरगत एक लाख रुपैया अनुदान सहयोगमा खोर सुधार, दाना, घाँस ब्यवस्थापन र बाख्रा थप गर्नुभएको छ ।

दानाको काभ्रेका २० जना महिलाहरुले पशु सेवा कार्यालयले तिन हजार रुपैयाका दरले उपलब्ध गराएको अनुदान सहयोगमा खोर सुधार गरि स्थानीय जातका कुखुरा ब्यवसायीक रुपमा पालेका छन् । घारका चार जना र दानाका एक जना कृषकले गोठ सुधारका लागि पाँच हजार रुपैयाका दरले अनुदान पाएका छन् ।

घारमा गाईपालन पकेट प्याकेज कार्यक्रम र कृतीम गर्भाधान सेवा विस्तार भएको छ । कालीगण्डकी क्षेत्रका पशुपालक कृषकहरुले कृषि ब्यवसाय आयोजनाले उपलब्ध गराउने सहित यस वर्ष ३३ लाख ८५ हजार रुपैया अनुदान पाएका पशु विकास अधिकृत नरबहादुर बानियाँले बताउनुभयो ।

कृषक र समूहहरुलाई तालीम, खोप, घाँसका बिरुवा वितरण लगायतका सुबिधा पनि दिइएको छ । जिल्ला स्तरीय अनुगमन टोलीसंग बुधबार ठूलोबगरमा अन्तरक्रिया गर्दै सो क्षेत्रका कृषकहरुले अनुदानले पशुपालनलाई ब्यवसायीकण गर्न र प्रोत्साहन मिलेको बताएका थिए । अनुगमनमा सहभागि सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले अनुदानको सदुपयोग र कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले कालीगण्डकी क्षेत्रमा सञ्चालीत पशु विकासका कार्यक्रमहरु कृषकको सक्रियता र चासोका कारण सफल भएको बताउनुभयो । हिमालयन चिज उत्पादन सहकारी संस्थाका अध्यक्ष नारायण बरुवालको अध्यक्षता र पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीको सञ्चालनमा अनुगमन टोलीका सदस्यहरु र कृषकहरुबीचको अन्तरक्रिया भएको थियो ।