कृषिमा अनुदान कार्यक्रमले युवालाई व्यवसायिक बनायो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,असार २९ गते ।
एक रोपनी जमिनमा परम्परागत रुपमा तरकारी खेती गर्दै आएका बेनपा ५ जरबुटाका ३० वर्षिय नारायण जिसीले यसवर्ष थप छ रोपनी खेतबारीमा तरकारी खेती विस्तार गर्नुभयो । घरायसी उपभोग र जिविकोपार्जनका लागि तरकारी खेती गर्दै आएका जिसीले हिजोआज बिक्री गरेर आम्दानी लिन थाल्नुभएको छ ।Youba Tarkari Khati

तिन वटा पलास्टीकको घरमा बेमौसमी गोलभेडाको साथै भन्टा, खुर्सानी, घिरौला, करेला लगायत प्रजातीका तरकारी खेती गरेका जिसीले दैनिक एक हजार पाँच सय रुपैयाँ बराबरको तरकारी बिक्री हुने गरेको बताउनुभयो । जिसी मात्र होईन् कुनै समय घरमा आवश्यक पर्ने तरकारी समेत बजारबाट किनेर उपभोग गर्ने ग्रामिण क्षेत्रका बासिन्दाले पछिल्लो समय आफै तरकारी बेचेर आम्दानी गर्न थालेका छन् ।histan tamoter khetiजिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेको युवा लक्षित कार्यक्रमले बिशेष गरेर युवाहरुलाई तरकारी खेतीमा लाग्न प्रोत्साहन मिलेको छ । ज्ञान, सिपको अभावका कारण घरमा उपभोगका लागि मात्र तरकारी खेती गर्दै आएको बताउँदै जिसीले यसपाली कृषि विकास कार्यालयबाट तालीम र नगद अनुदान पाएपछि खेती विस्तार गरेको बताउनुभयो ।
बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिमतर्फ अवस्थित जरबुटाका २४ वर्षिय रमेश खत्री पनि मौसमी तथा बेमौसमी तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहनुभएको छ । खत्रील कृषि विकास कार्यालयले उपलब्ध गराएको चालीस हजार रुपैयाँ अनुदानका अतिरित्त थप ६० हजार लगानी गरेर टनेल निर्माण, मल, बिउ खरीद गरी व्यवस्थित रुपमा तरकारी खेती गर्नुभएको छ ।

बिदेश जाने योजना त्यागेर तरकारी र कुखुरापालन गरिरहेका केसी परिश्रम गर्न सके स्वदेशमै आम्दानी गर्न सकिने बताउनुहुन्छ । जिल्ला कृषि विकास कार्यालयले यस वर्ष ६० जना युवा कृषकहरुलाई चालीस हजार रुपैयाँका दरले २४ लाख रुपैयाँ अनुदान वितरण गरेको छ ।
अनुदान पाउनका लागि कम्तीमा एक सिजनमा पाँच रोपनी जमिनमा तरकारी खेती गर्नुपर्ने सम्झौता भएकाले पनि कृषकहरुले बाध्य भएर तरकारी खेती विस्तार गरेको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । धेरै क्षेत्रफल र ठूलो परिणाममा तरकारी उत्पादन गर्दा लागत कम पर्ने जाने मात्र नभई आम्दानी पनि बढी हुने भएकाले कृषक व्यवसायिक बन्न थालेका छन् ।

कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीमा एक हजार ४८५ जना कृषकहरुले व्यवसायिक रुपमा तरकारी खेतीका साथै फलफुल र आलु खेती गरेका छन् । सडक सुबिधा, बजार विस्तार र कृषकहरुको आकर्षणका कारण तरकारी खेती विस्तार भई आयात घट्दै गएको कृषि विकास कार्यालयले जनाएको छ । म्याग्दीको एक हजार हेक्टर भन्दा बढी जमिनमा व्यवसायिक तरकारी खेती भएको छ । गत आर्थिक वर्षमा १० हजार ६१२ मेट्रिक्टन तरकारी उत्पादन भएको थियो ।