प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, असार २७ ।
महिलाहरुको आफ्नै सक्रियतामा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्थाले सोमबार खाद्यान्न सहयोग गरेको छ । सहकारीको चौथो स्थापना दिवसको अवसरमा राखुपिप्ले–१ राहुघाटस्थित रहेको गायत्री तथा पर्वतको माझफाँट–८ मा अवस्थित रामन्दिरका ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको हो । सहकारीले गायत्री मन्दिरलाई २ बोरा चामल, आलु १० केजी, दाल, नुन र चिनी पाँचपाँच केजी, खानेतेल १ प्याक, आटा ३० पोका र तरकारी ३ केजीसहित दैनिक उपभोग्य सामाग्रीहरु हस्तान्तरण गरेको जनाएको छ । यसैगरी रामन्दिरमा पनि एक बोरा चामल, दाल ५ केजी, तेल १ प्याक, आलु ५ केजी, तरकारी २ केजीका साथै दैनिक उपभोग्य सामान सहयोग भएको छ । दुवै मन्दिरमा गरी कुल १४ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सङ्गिनी सहकारीका संस्थापक अध्यक्ष अमृता भण्डारीले सहकारीले स्थापनाकालदेखि नै विभिन्न क्षेत्र र वर्गलाई सहयोग गर्दै आइरहेको बताइन् । सहयोग ग्रहण गर्दै गायत्री मन्दिरका उपाध्यक्ष कविन्द्रराज जोशीले विभिन्न संघसंस्थाको सहयोगले मन्दिर सञ्चालन भैरहेको बताएका थिए ।
मन्दिरका ज्येष्ठनागरिक स्वामी चन्द्रेश गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बह्माचारी स्वामी केशवदास, सहकारीका पदाधिकारी, सञ्चालकलगायतको सहभागीता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष साधना श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष गौरी थापामगरको स्वागत र सचिव तेजकुमारी बानियाँ गंगाको सञ्चालनमा सम्पन्न भएको थियो ।