विकल्प न्यूज/बेनी
राम्चे,म्याग्दी असार २० गते ।
म्याग्दीको राम्चेमा महिलाहरुको सक्रियता र नेतृत्वमा सामुदायिक भवन तथा पाहुना घर निर्माण भएको छ ।
गाउँमा भित्र्ने पाहुनाहरुको आवास सुबिधाका लागि देउराली आमा समूहले राम्चे ४ मा सामुदायिक भवन निर्माण गरेका हुन् । नौ लाख रुपैयाँ भन्दा बढी लगानी भएको भवनमा सामुदायिक लज सञ्चालन गर्ने तयारी गरेको भवन निर्माण समितिकी संयोजक माया पुर्जाले जानकारी दिनुभयो ।
दुई तले भवनको माथिल्लो तलामा १२ जना क्षमत्ताको ६ वटा कोठा रहेका छन् । तल्लो तलामा डाईनीङ, भान्छा कोठा र तालीम हल बनाइएको छ । जिविसको पाँच लाख २९ हजार, पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनको सांसद विकास कोषबाट एक लाख र गाविस कार्यालयको एक लाख ९६ हजार रुपैयाँ अनुदानमा भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि महिलाहरुको मात्रै सहभागितामा उपभोक्ता समिति गठन भएको थियो । सरकारी निकायसंग समन्वय गर्नेदेखि स्थानीय स्तरमा जनसहभागिता जुटाउने काम महिलाहरुलेनै गरेका हुन् । उनिहरुलाई गाउँका अगुवा र पुरुषहरुले पनि साथ दिएका छन् ।
आवास र भान्छाको सामाग्री जुटाएर सामुदायिक लज सञ्चालनमा ल्याउन थप पाँच लाख रुपैयाँ आवश्यक पर्ने संयोजक पुर्जाको भनाई छ । गाउँमा आउने पाहुना र पर्यटकलाई सामुदायक लजमा बसोबासको ब्यवस्था मिलाउने योजना रहेको राम्चेका अगुवा फासबहादुर पुर्जाले बताउनुभयो ।
लजबाट भएको आम्दानी गाउँको विकास तथा सामाजिक काममा परिचालन गर्ने लक्ष्य राखिएको छ । आमा समूहले गाउँमा सडक निर्माण, सामुदायिक विद्यालय, भवन निर्माण लगायत सामाजिक र विकास निर्माणका काममा सघाउदै आएका छन् ।
2 thoughts on “राम्चेका महिलाहरुको सक्रियतामा पाहुना घर”