राम्चेका कृषकको रोजाइमा किबी खेती

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी,असार १९ गते ।
म्याग्दीका ग्रामिण भेगका किसानहरु किबी खेती तर्फ आकर्षीत हुन थालेका छन् । राम्चे, हस्तान र भकिम्ली गाविसका कृषकहरुले पाखोवारीमा किबीको व्यवसायिक खेती गर्न थालेका छन् । एकपटक विरुवा रोपेपछि चालिस वर्ष सम्म फल दिन सक्ने भएकाले किसानहरुको रोजाइमा किबी खेती पर्न थालेको हो ।  kibi3समुन्द्री सतहको एकहजार दुइसय देखि दुइहजार दुइसय मिटरको उचाई सम्म किबी खेतीका लागि उपयुक्त हुनेभएकाले यस क्षेत्रका किसानहरु किबीको व्यवसायिक खेती तर्फ आकर्षीत छन् ।
जिल्लाको राम्चे गाविसका प्रयाःजसो घरहरुमा किबी खेती गरिएको छ । गाउँका अगुवा किसानहरुले व्यवसायिक रुपमा किबी खेती गर्न थालेपछि युवा पीडीमा पनि यस तर्फ आकर्षण बढेको राम्चेका स्थानीय कृषक ओमवहादुर पुर्जाले बताउनुभयो ।
पुर्जाले विगत १२ वर्ष देखि किबी खेती गर्दै आउँनुभएको छ । एकपटक लगाएपछि धेरै वर्ष सम्म फल लिन सकिने भएकाले किबी खेती गर्ने किसानहरुको संख्या वढेको पुर्जाले बताउनुभयो । kibi4एकपटक लगाएपछि धेरै वर्ष सम्म फल लिन सकिन्छ पुर्जाले भन्नुभयो,‘ किबी खेतीबाट कम परिश्रमबाट पनि धेरै फाइदा लिन सकिन्छ ।’ स्थानीय बजारमा किबी फलका वारेमा सर्वसाधारणहरुमा त्यति जानकारी नभएकाले बजार पाउन नसकेपनि ठूला सहरहरुमा भने किबी फलको माग उच्च भएको पुर्जाले सुनाउनुभयो ।
तिनवर्ष अगाडी १० वटा किबीका विरुवा रोपेको बताउँने राम्चेकी माया पुर्जाले अहिले राम्रो फल दिन थालेको बताउनुभयो । उहाँले गतवर्ष किबी बिक्री गरेर पचासहजार रुपियाँ आम्दानी गरेको बताउनुभयो ।

रहर लागेर तिनवर्ष अगाडी किबीका विरुवा रोपेको हुँ पुर्जाले भन्नुभयो,‘अहिले राम्रो फल लाग्दा त खुसिको सिमा छैन ।’ राम्रो तरिकाले स्यार गर्ने हो भने १० वटा विरुवाबाट वर्षमा एकलाख रुपियाँ सम्म आम्दानी गर्न सकिने माया पुर्जाले सुनाउनुभयो । गत वर्ष पोखरा पु¥याएर तिनसय पचास रुपियाँ प्रतिकेजीमा बिक्री गरेको उहाँले बताउनुभयो ।

पछिल्लो समय किसानहरुमा किबी खेती प्रति रुचि बढ्दै जानथालेको कृषि विकास कार्यालय म्याग्दीका बागवानी विकास प्राविधक साहयक श्याम क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष हेवार्ड र ब्रुरुनो जातका एकहजार किबीका विरुवा किसानहरुलाई वितरण गरिएको बताउनुभयो ।

स्थानीय बजारमा किबीको बजार नभएपनि ठूला सहरहरुमा भने यसको माग उच्च भएको कृषि विकास कार्यालय म्याग्दीका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।

उहाँका अनुसार किबी खेती तर्फ आकर्षण भएपनि स्थानीय तहमा बजारको समस्या भएकाले कार्यालयले यसको खेतीमा प्राथमिकता नदिएको बताउनुभयो । स्थानीय बजारहरुमा किबी फल खाने बानी नपरेकाले यसको बजारीकरणमा समस्या भएको उहाँको भनाई छ । मूल्य बढी हुनु, किसानहरुले ठूला सहरहरुमा नियमति रुपमा पु¥याउन नसक्नु र स्थानीय उपभोक्ताहरुको किबी फल खाने बानी नहुँनुले किबी खेतीको विस्तारमा समस्या आएको उहाँको भनाइ छ ।