महिलाको सक्रियतामा सडक

विकल्प न्यूज/बेनी
असार १९ गते ।
म्याग्दी र पर्वतको सिमा क्षेत्रमा महिलाहरुको सक्रियतामा सडक आयोजना निर्माण भएको छ ।

जिविस, म्याग्दी मार्फत २०७२ चैत २३ गते सुरु भएको फलामेडाँडा–राम्चे–नागी सडक आयोजना महिला उपभोक्ताहरुको सक्रियताका कारण निर्धारीत समय भन्दा आधा महिना पहिले सम्पन्न भएको छ ।

२० लाख रुपैयाँ लागतमा २०७३ जेठ मसान्त सम्म सम्पन्न गर्नुपर्ने आयोजना जेठ १५ गतेनै सम्पन्न भएको हो । एक किलोमिटर सडकमा ढुंगा बिच्छ्याएर (सोलीङ) गर्नुपर्ने आयोजना मार्फत लक्ष्य भन्दा थप ३० मिटर बढी काम भएको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण गर्बुजाले जानकारी दिनुभयो ।

एक हजार ३० मिटर सडकमा ३.५ मिटर चौडाईमा ढुङ्गा बिछ्याइएको छ । उपभोक्ता समितिमा रहेका र गाउँका महिलाहरुको सक्रियताका कारण निर्धारीत समयभन्दा अघिनै लक्ष्य भन्दा बढी काम गरिएको अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनामा श्रमदान र मजदुरको रुपमा महिलाहरु सक्रिय भएर खटिएका थिए । ७ जनाको उपभोक्ता समितिमा चार जना महिला छन् । १७ मिटरको बाहेक अरु सबै काम महिलाहरुले गरेका हुन् ।Mahaila ko Sakriyata Ma Banako Sadak

जिविसको अनुगमन टोलीले महिलाहरुको सक्रियातामा निर्माण गरिएको सडक अवलोकलन गर्दै ।

नांगी, राम्चे, फलामेडाँडा, कुवापानी, लोप्रे, डाँडाकटेरी गाउँका महिलाहरुले श्रमदान र मजदुरी गरेरे आयोजना निर्माण गरेको उपभोक्ता समितिका कोषाध्यक्ष ललीता तिलीजाले जानकारी दिनुभयो ।

बैदेशिक रोजगारीका कारण गाउँमा पुरुष नभएको, बाहीरबाट मजदुर ल्याउँदा ढिलाई हुने, लागत बढ्ने भएकाले स्थानीय महिलाहरुनै आयोजनाको काममा खटिएको तिलीजाको भनाई छ ।

उहाँका अनुसार दुई लाख चार हजार बराबरको श्रमदानका अतिरिक्त आयोजनामा खटिएका महिलाहरुले करिब १५ लाख रुपैयाँ ज्याला वापत आम्दानी गरेका छन् । दैनिक ८० देखि एक सय जना महिलाहरु आयोजनाको काममा खटिएका थिए । दश दिनका दरले काम गरेका हुन् ।
पर्वतको लेकफाँटदेखि म्याग्दीको पर्यटकीय स्थल नांगी जोड्ने सो सडक मर्मत, सुधार भएपछि आवत जावत सहज भएको छ । राम्चे, नागी, काफलडाँडा, रिम, औला, लोप्रो, शालीजा, फलामेडाँडा, कुवापानी, डाडाकटेरी गाउँका छ सय घरधुरी आयोजनाबाट लाभान्वित भएका उपभोक्ता समितिका सचिव माया पुनले बताउनुभयो ।
पछिल्लो समय महिलाहरुमा विकास प्रति जागरण पैदा भएकाले स्थानीयस्तरमा विकासको नेतृत्व महिलाहरुले गर्न थालेको नेकपा एमालेकी जिल्ला सदस्य पशुपति शाहिले बताउनुभयो । महिलाहरुलाई अवसर दिने हो भने काम गर्न सक्छन् भन्ने उद्दाहरण जिल्लाका धेरै स्थानहरुमा देखिएको उहाँको भनाई छ ।

खाल्डाखुल्डी, हिलोका कारण आवात जावत गर्न समस्या थियो । स्थानीय बासिन्दालाई आवत जावत, आलु निकासी, खाद्यान्न, निर्माण सामाग्री लगायत ढुवानी गर्न सहज भएको सचिव पुनले बताउनुभयो ।

करिब दश किलोमिटर दुरीको फलामेडाँडा–नागी सडक अन्तरगत जिविस पर्वतको आठ लाख रुपैयाँ सहयोगमा फलामेडाँडा क्षेत्रको पाँच सय मिटर सडकमा पनि ढुङ्गा बिछ्याएर सोलीङ गर्ने काम भैरहेको छ । अझै दुई किलोमिटर दुरीमा ढुंङ्गा बिछ्याउन आवश्यक रहेको उपभोक्ता समितिले जनाएको छ ।