सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३० जेठ ।
जिल्ला बाल संजाल म्याग्दीले बालश्रमको अन्त्य गर्न माग गरेको छ ।
अन्तराष्ट्रिय बालश्रम विरुद्धको दिवसको अवसर पारेर सञ्जालले जिल्ला बालकल्याण समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ केशवराज आचार्यलाई आईतबार ज्ञापनपत्र बुझाउदै बालश्रम विरुद्धका ऐन नियम कडाईका साथ कार्यान्वयन गर्नुपर्ने माग गरेको हो ।
६ बुदे ज्ञापनपत्रमा यातायात, पुर्वाधार निर्माण, होटल तथा रेष्टुरेष्ट, उद्योगमा र घरेलु कामदारका रुपमा बालबालीकालाई निकिष्ट श्रममा लगाउने क्रम बढेको भन्दै नियन्त्रणका लागि माग गरीएको छ ।
बालश्रम लगाउनेलाई कानुनी कारबाही गर्न, ऐन नियमको कार्यान्वयका विषयमा सरोकारवाला निकायहरुबीच समन्वयन गर्न र स्थानीय निकायको पहलमा जिल्लालाई बालश्रममुक्त बनाउन पनि सञ्जालले माग गरेको छ ।
सञ्जालका अध्यक्ष दिपक परियार, सचिव रञ्जना श्रेष्ठ लगायत ज्ञापनपत्र बुझाउन गएको टोलीसंग प्रमुख जिल्ला अधिकारी आचार्यले बालश्रमको समस्या न्युनीकरणका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी १४ देखि १६ वर्ष भित्रका बालबालीकालाई हल्का काममा लगाउँदा आमाबाबु वा अभिभावकको स्वीकृती लिनुपर्ने, त्यसको जानकारी श्रम कार्यालयलाई दिनुपर्ने, दिनको ३ घण्टा भन्दा बढी तथा रातको समयमा काममा लगाउन नहुने र प्रत्येक ३ घण्टामा आमार दिनुपर्ने नितिगत ब्यवस्था छ ।
१६ वर्ष भन्दा कम उमेरका बालबालीकालाई जोखिमपूर्ण काममा लगाउन नहुने र त्यस विपरित कसैले काममा लगाएमा एक वर्षसम्म कैदा वा ५० हजार सम्म जरिवाना वा दुबै सजायँ हुन सक्ने कानुन रहेको जिल्ला बालअधिकार निरिक्षक भुवन मल्लले बताउनुभयो ।
म्याग्दीमा गरिबी, अभिभावकमा चेतनाको कमी, सरोकारवालाको अनुगमनको कमी र लहलहैमा लागेर बालबालीकाहरु जोखिमपूर्ण श्रममा संलग्न हुने गरेका छन् ।