सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,जेठ ३० गते ।
शनिबार साँझ ६.३० बजेसम्म बेनी–पाखापानी सडक आयोजना अन्तरगत आँपरुख नजिकैको घुम्तीमा डोजरले सोलीङका लागि खन्दै थियो । मजदुरहरु सडकमा ढुंङ्गा बिछ्याउदै थिए । बेनी बजारको क्याम्पसचोकको सिरानमा रहेको सो घुम्तीमा डोजरले सडकको माटो निकालेर पाखामा फालीरहेको थियो ।
ढुङ्गा बिछ्याएर सोलीङ र ढलान गर्न डोजरले खनेर फालेको माटो शनिबार राती दश बजेदेखि सुरु भएको भिषण बर्षासंगै क्याम्पसचोकमा बाढी बनेर आयो । अर्थुङ्गे देखिको सडकबाट जम्मा हँुदै आएको बढी नाली नभएकाले आँप रुखको घुम्तीबाट खोल्सामा खसेर क्याम्पसचोकमा बाढी मात्र आएन्, दर्जनौ घरभित्र पस्यो ।
क्याम्पसचोकसंगै बेनी बजारको पश्चिमतर्फ रहेको मंगलाघाटका बासिन्दालाई पनि सोही सडकबाट बगेर आएको बाढीले शनिबार राती निदाउन दिएन् । बौद्ध बिहार भन्दा केही माथिको घुम्तीमा रहेको खोल्सामा आएको बाढी सत्य साई केन्द्रको भवनदेखि तलतिर सडकबाटै बग्न थाल्यो ।
पाँच वटा घरभित्र बाढी परेर क्षत्ती गर्नुका साथै सडक हिलाम्मे बनाएको ६ नम्बर वडा कार्यालयका सचिव कृष्ण शाक्यले बताए । क्याम्पसचोक र मंगलाघाटका बासिन्दा मात्र नभएर करिब नौ सय घरधुरी रहेको बेनी बजारका बासिन्दाले शनिबारको रात त्रासमै कटाएका छन् बाढीका कारण ।
उनिहरु बेल्चा समाएर सडकबाट घरभित्र बाढी पस्नबाट बचाउने प्रयास गर्दै थिए । तर प्राकृतिक विपत्तीसंग उनिहरुको केही जोर चल्ने अवस्था थिएन् । घर, पसलका सामान बाढीले भिजेर क्षत्ती ग¥यो । खाद्यान्न, तरकारी, कपडा, सुनचाँदी, मोवाईल, हार्डवयर, मासु पसलका सामान बाढीले भिजेर नष्ट भएको छ । तल्लो तलामा रहेका कतिपयका बिस्तारा, भान्छाकोठामा पानी र हिलो थुप्रिएको छ ।
पानी परिरहेको अवस्थामा बाढी नियन्त्रण र ब्यवस्थापनमा प्रहरी र स्थानीयबासी खटिएका थिए । खोल्सामा आएको बाढीले निकास पाउन नसकेपछि नाली फुटेर सडक र घरभित्र पसेको क्याम्पसचोकका बासिन्दा नारायणदत्त सुवेदीले बताए । क्याम्पसचोकमा आएको बाढी न्युरोड हुदै हुलाकचोक र गणेशटोल, संगमचोक, बालमन्दिर चोकबाट म्याग्दी नदीमा गएर मिसीयो ।
पछिल्लो तिस वर्षयता क्याम्पसचोकमा आएको बाढी बालमन्दिर चोक हँुदै म्याग्दी नदीमा मिसीएको पहिलो पटक भएको बालमन्दिरका बासिन्दा टंक हमालले बताए । लेदो र ढुङ्गा सहितको बाढी नाली भरिएपछि फुटेर सडकमा थुप्रिनुका साथै लेदो घरहरुमा घरहरुमा पसेको हो । वि.स २०६३, २०६९ र २०७२ असार ३० गते पनि क्याम्पसचोक यसैगरी आएको बाढीले डुवानमा परेको थियो ।
‘अर्थुङ्गेमा सडकको भल ब्यवस्थापन हुन नसक्नु, सडक खन्दा जथाभावी पाखोमा माटो फाल्नु र नालीबाट सहज रुपमा ढल निकास हुन नसकेका कारणले बर्षेनी बाढी र डुबानको समस्या दोहोरीरहेको छ’ म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक समेत रहेका सुवेदीले बताए ।
सुवेदीको भनाईसंग जिल्ला भुसंरक्षण कार्यालयका प्रमुख दिवाकर पौडेल पनि सहमत छन् । ‘यो बिनाशमुखी विकासले निम्त्याएको बिपद् हो’ पौडेलले भने ‘जथाभावी डोजर लगाएर बाटो खन्ने, ढल व्यवस्थापन र नाली बनाउन ध्यान नदिँदा यस्तो परिणाम आएको हो ।’
पाखोको खोल्साबाट सहज रुपमा बगेर आएको बाढी म्याग्दी बहुमुखी क्याम्पसको गेट भन्दा केही माथिबाट नालीमा अट्न नसकेपछि बाहीर निस्कीएको थियो । क्याम्पसचोक क्षेत्रको सडकमा करिब डेढ मिटर माथिसम्म बाढी थुप्रिएको छ । क्याम्पसचोकको तल्लो भागमा पर्ने एउटा घरभित्रै नाली रहेको छ । हाल रबी सुवेदीको नाममा रहेको सो घरभित्रको नाली साँघुरो भएकाले पनि बाढी आउँदा निकास नपाउने समस्या छ ।
बाढीले पु¥याएको क्षत्ती विवरण आईतबार बिहानदेखि संकलन गरिने प्रहरी निरिक्षक लोकन्द्र सिङ गुरुले बताए । ‘राती बाढी व्यवस्थापन र घरभित्रका सामानहरु सुरक्षित गराउन केन्द्रित भयौ’ प्रहरी निरिक्षक गुरुले भने ‘आईतबार बिहानैदेखि क्षत्तीको विवरण संकलन गर्छौ ।’ करिब एक सय घर तथा पसलमा क्षत्ती गरेको प्रारम्भिक अनुमान गरिएको छ ।
आईतबार बिहान कुश्माबाट आएको शसस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दा बाढीको थुप्रो पन्छाउन जुटिरहेका छन् । बेनी नगरपालीका कार्यालयले डोजर लगाएर बाढीको थुप्रो पन्छाउने कार्यकारी अधिकृत छवीलाल सुवेदीले बताए । बाढीले सहज रुपमा निकास पाउने नाली नहुँदा यस्तो समस्या आएको उनको भनाई छ ।
उनका अनुसार क्याम्पसचोक माथिको पाखोको खोल्सामा आउने बाढीलाई सुरक्षित निकास दिन चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ भन्दा बढीको नाली निर्माण योजना सञ्चालन भएको छ । जिविसले पनि छुट्टै थप १० लाख रुपैयाँ अनुदानको अर्को योजना सञ्चालन गरेको छ । निर्माणाधिन नाली सम्पन्न नहुदै बाढीले भत्काईदिएको छ ।
बेनी बजारमा मात्र नभएर जिविस अन्तरगतको विकेन्द्रित ग्रामिण पुर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत सञ्चालित बेनी पाखापानी सडक आयोजना वरपरका अर्थुङ्गे, जामुनाखर्क, नेप्टेचौर क्षेत्रका सडक आसपासका घरहरु पनि जोखिममा परेका छन् । बेनपा ९ का घनश्याम सुनारको घर सडक निर्माणका क्रममा डोजर लगाएर भित्ता खनेपछि भत्कने अवस्थामा पुगेपछि ९ जनाको परिवार विस्थापित भएका छन् ।
गएरातीको बर्षासंगै घरको पिढीनै चर्कीएर भत्कने अवस्था आएको सुनारले बताए । यसैगरी अर्थुङ्गेको सैनीक ब्यारेकमाथि रहेका घरहरुमा पनि सडकबाट आएको बाढीले क्षत्ती गरेको स्थानीय बासिन्दा धु्रबलाल शर्माले बताए । सडकबाट भल बग्दा बेनी–अर्थुङ्गे सडक पनि ठाउँ ठाउँमा भत्कीएर अवरुद्ध बनेको छ ।
ड्रिलीप आयोजनाका प्रमुख समेत रहेका जिल्ला ईञ्जिनियर ओमबहादुर केसीले स्थानीय बासीन्दाले सडकमा नाली बनाउन नदिदाँ समस्या भएको बताए । विभिन्न बिवाद झिक्ने, नाली बनाउन नदिने गरेकाले सडकको बाढीलाई निकास गराउन समस्या भएको केसीको भनाई छ । सडकमा नाली निर्माण र खोल्सामा आउने बाढीको सुरक्षित निकास नभएसम्म बेनीबजारमा बाढीको समस्या दोहोरीने देखिन्छ । नवविकल्प साप्ताहिक पत्रिकामा जेठ ३० गते प्रकाशित