विकल्प न्यूज/बेनी
म्याग्दी,जेठ २३ गते ।
बेनी नगरपालीका ९ नेप्टेचौरका उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडरले उचित मूल्य पाउन सकेको छैन् ।
सिस्नो पाउडर उत्पादन गर्दा हुने लगानी र ज्याला पनि उठ्न नसकेपछि उद्यमीहरु निराश र निश्क्रिय हुन थालेका छन् । वि.स २०६३ देखि सिस्नो पाउडर उत्पादन गर्दै आएको नेप्टेचौर स्थित गलेश्वर सिस्नो पाउडर उद्यमी समूहमा आवद्ध २२ जना मध्य अहिले दुईतीन जना मात्रै सक्रिय रहेका छन् ।
धेरै दुख र परिश्रम गरेर उत्पादन गरेको सिस्नोको पाउडर बेचेर ज्याला पनि उठ्न नसकेपछि उद्यमीहरु विस्थापित भएको समूहकी अध्यक्ष अमीता खत्रीले बताइन । दुईतिन दिन लगाएर तयार हुने एक किलो सिस्नो पाउडर २२० रुपैयामा बेच्नुपर्दा उद्यमी मर्कामा परेका खत्रीको भनाई छ ।
गाउँघरमा मजदुरी गर्नेले दैनिक तिन सय रुपैयाँ ज्याला पाउँछन् । सिस्नो पाउडर प्याकेटमा बिक्री गर्दा तिन सय ५० रुपैया प्रतिकिलो पर्छ । ग्राहकले सस्तो भएकाले प्याक नगरेको पाउडर माग गर्ने गरेका छन् । एक डोको सिस्ना टिप्न पुरै दिन लाग्छ । मझौला आकारको एक डोका सिस्नो सुकाउँदा एक किलो पाउडर बन्छ ।
अरुको व्यक्तिगत जमिनमा सिस्नो टिप्न नपाउने, जंगलमा टाढा टाढा पुगेर संकलन गरेर सिस्नो ल्याउनुपर्ने र फाइदा नहुने भएपछि पछिल्लो समय सिस्नो पाउडर उत्पादन घटेको समूहकी सदस्य अञ्जना चोखालको भनाइ छ । पहिले वार्षिक पाँच सय किलोसम्म सिस्नो पाउडर उत्पादन गर्ने उनिहरुले पछिल्लो एक वर्षयता डेढ सय किलोमात्र उत्पादन गरेका छन् ।
स्वास्थ्वव्रर्दक र औषधीको रुपमा समेत प्रयोग हुने सिस्नोको पाउडर ठूला होटल तथा सम्पन्न समुदायमा लोकप्रिय बनेको छ । उनिहरुले गैरसरकारी संस्था संगम म्याग्दी र लघुउद्यमी समूहको सहयोगमा सिस्नो पाउडर उत्पादन सुरु गरेका थिए ।
समूहलाई एक वर्षअघि संगम म्याग्दीले बहुसरोकारवाला वन कार्यक्रम अन्तरगत पाँच लाख ५५ हजार रुपैयाँ मूल्य पर्ने सिस्नो सुकाउने सोलार डायर पनि सहयोग गरेको थियो । सिस्नो सुकाउन दिइएको सोलार डायर स्थानीयले तरकारी सुकाउन प्रयोग गरेका छन् ।