९७ वर्षमा स्तन क्यान्सरको शल्यक्रिया

विकल्प न्यूज/बेनी
जेठ ८ गते ।

 चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुनमगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । अस्पतालका कार्यकारी अध्यक्षसमेत रहेका सर्जन डा. भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सक समूहले उनको शल्यक्रिया गरेको थियो ।

९७ वर्षको उमेरमा भएको यो शल्यक्रिया नेपालमै पहिलोपटक भएकोसमेत अस्पतालको दाबी छ । ‘मेरो जानकारीमा भएसम्म नेपालमै पहिलो हुनुपर्दछ,’ डा. श्रेष्ठले भने, ‘सामान्यतया ७० वर्ष उमेर नाघेपछि शल्यक्रिया गर्न उच्च जोखिम मानिन्छ । ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई शल्यक्रिया गर्नु चरम जोखिम मानिए पनि जोखिम उठाएर हामीले सफलतापूर्वक शल्यक्रिया सफल गरेका छौँ ।’ श्रेष्ठले ०५१ देखि शल्यक्रिया गर्दै आएका छन् । यो अवधिमा यसअघि आफूले ८३ वर्ष उमेर समूहको मानिसको शल्यक्रिया गरेको उनको भनाइ छ ।

बिरामी रहेकी तमिसराको स्तन दुःखेपछि छोरा सुरबहादुर पुनमगरले १ जेठमा आमालाई अस्पताल ल्याएका थिए । परीक्षण गर्दा देब्रे स्तनमा गिर्खा भेटियो । सिटी स्क्यान र एफएनएसी गर्दा २.५ सेन्टिमिटरको गिर्खामा दोस्रो स्टेजको क्यान्सर देखियो । उमेर धेरै भएकाले फोक्सो र मुटुमा पनि समस्या थियो । रगत र प्लेटलेट्स पनि कम देखियो । सुरुमा शल्यक्रिया गर्न समस्या हुन्छ कि भन्ने थियो । एनेस्थेसियोलोजिस्ट डाक्टर पनि अप्रेसनप्रति सकारात्मक भएपछि परिवारका सदस्यले शल्यक्रिया गर्न अस्पताललाई आँट दिए ।

तमिसराको अप्रेसनका लागि डा. सुरेश गौतम र इन्द्रनारायण श्रेष्ठले एनेस्थेसिया दिने (बेहोस बनाउने) काम गरे । सर्जनहरू डा. श्रेष्ठको नेतृत्वमा डा. रवीन्द्र केसी, डा. सागर भुसाल, नर्सहरू निरु आलेमगर, मुना श्रेष्ठ, शिल्पा पोखरेलसहितको समूह थियो । उनीहरूले शल्यक्रियाअघि मुटुरोग विशेषज्ञ डा. सुधीर रेग्मी र मणिप्रसाद गौतम, फिजिसियन डा. किशोर गौतमसँग परामर्श लिएका थिए ।

शुक्रबार बिहान १० बजेतिर अपरेसन भएको थियो । एक घन्टा पाँच मिनेटमा शल्यक्रिया सकिएको थियो । करिब पाँच मिनेटपछि तमिसराको होस आएको थियो । बेहोस बनाएर शल्यक्रिया गरेपछि नब्युँझिने पो हो कि भन्ने खतरा हुन्छ । उनको होस खुल्दा चिकित्सक र परिवार खुसी देखिएका थिए । उनको शल्यक्रिया गर्दा ७५ हजार रुपैयाँ खर्च लागेको थियो । शल्यक्रियापछि अहिले शंकास्पद मासुको नमुनाको बायोस्पी भारतमा गरिँदै छ । बायोस्पीपछि इम्युनो हिस्टो केमेस्ट्री (आइएचसी) परीक्षण गरिन्छ । त्यसको रिपोर्टले कस्तो क्यान्सर हो, कुन किमो, कति समयका लागि आवश्यक पर्ने भन्ने निधो गर्न सकिने डा. श्रेष्ठले बताए ।

 बढ्दो छ स्तन क्यान्सर 
डा. श्रेष्ठका अनुसार विगतमा सबभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिने गरेकोमा अहिले स्तन क्यान्सर बढिरहेको छ । पहिले ५०–६० वर्षका महिलामा बढी देखिने गरेको स्तन क्यान्सर अचेल कलिलै उमेरबाट देखिएको छ । आफूले यो वर्ष मात्रै २० वर्षभन्दा कम उमेरकी एक र २५ वर्षभन्दा कम उमेरकी चार युवतीहरूको स्तन क्यान्सरको शल्यक्रिया गरेको उनले बताए ।

उनीहरूमध्ये तीनजना अविवाहित हुन् । स्तन क्यान्सर करिब ६३ प्रतिशतलाई हर्मोनका कारण, १५ प्रतिशतजतिलाई वंशाणुका कारण देखिने गरेको श्रेष्ठ बताउँछन् । महिनावारीमा गडबडी, जीवनशैली, खानपान, विषादी, जलवायु परिवर्तनको असरलगायतका कारण पनि क्यान्सर हुन सक्ने उनले बताए ।  आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।