पोखरामा ‘ट्याक्सीले मिटर चलाएन, १०३ मा फोन गर्नुस्’

वैशाख १० गते । 

गण्डकी प्रदेशको राजधानी पोखरामा मिटरमा नचल्ने ट्याक्सीमाथि निगरानी बढाइएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीले पोखरा महानगरभित्र मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही गरिरहेको छ । यो आर्थिक वर्ष सुरु भएपछि पाँच सय चार ट्याक्सीलाई कारवाही गर्दा १४ लाख २८ हजार दुई सय राजस्व सङ्कलन भएको छ ।

आइतबारमात्र मिटरमा नचल्ने १३ ट्याक्सीलाई नियन्त्रण लिइएको कार्यालयका प्रहरी प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । गत वर्षको असोज १ गतेबाट ट्याक्सी व्यवसायी र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबिच मिटरमा ट्याक्सी चलाउने सहमति भएको थियो ।

सहमतिपछि त्यसलाई कार्यान्वयन गर्न बेला बेलामा अनुगमन गरिरहेको कार्यालय प्रमुख शर्माको भनाइ छ । मिटरमा चलाउन नमान्ने गर्ने ट्याक्सी चालकलाई दुई हजार पाँच सयदेखि पाँच हजारसम्म जरिवाना गर्ने गरिएको छ । “कुनै ट्याक्सी मिटरमा चल्न नमाने १०३ मा फोन गर्नुस्, हामी तत्कालै कारवाही गर्छाैँ,” उहाँ भन्नुहुन्छ ।

कास्की ट्राफिकले सेवाग्राहीको गुनासो र सिभिल पोशाकमा प्रहरी कर्मचारीलाई नै खटाएर ट्याक्सीले मिटर चलाएको÷नचलाएको अनुगमन गर्ने गरेको छ । २१ हजार एक सय ९२ वटा ट्राफिक कारवाहीबाट एक करोड ७७ लाख ९२ हजार राजस्व सङ्कलन गरेको छ ।

स्वरुप परिवर्तन गरिएका एक हजार एक सय ५८ मोटरसाइकललाई कारवाही गरी प्रहरीले १६ लाख ७७ हजार तीन सय राजस्व सङ्कलन गरेको छ । मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने क्रम नरोकिएपछि प्रहरीले त्यसमा संलग्न वर्कसपका सञ्चालकहरुलाई समेत पक्राउ गरी कारवाही गर्न थालेको छ भने पार्किङमा राखिएका स्वरुप परिवर्तन गरेको साधनलाई पनि नियन्त्रणमा लिन थालेको छ ।

कास्कीमा पछिल्लो तीन महिनामा १७ दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । माघदेखि चैतसम्म बैकिङ कसुरका मुद्दा भने निकै बढेका छन् । कास्की प्रहरीमा दर्ता हुने मुद्दामा ४०.७३ प्रतिशत बैकिङ कसुरका छन् । यस्तै, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरका १८.६५ प्रतिशत र झुन्डिई आत्महत्याका पाँच दशमलव ९८  प्रतिशत छन् ।

यो अवधिमा एक सय ८१ जना फरार प्रतिवादी पक्राउ गरी ३८ वर्ष दुई महिना १८ दिन कैद सजाय भुक्तानी  र ८६ लाख ४२ हजार सात सय सात रुपियाँ जरिवाना असुली गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । तीन महिनामा एक सय २८ जना हराएको निवेदन परेकोमा एक सय तीन जना फेला परेका छन् ।

प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गत वर्षको भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटर प्रणाली लागू गरेको थियो । ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो बढेपछि मन्त्रालयले मिटर प्रणाली लागू गर्न पहल लिएको थियो ।

विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । दुई वर्षअघि समायोजन गरेको भाडादर अनुसार १५ किमीको यात्रामा चढ्ना साथ (फ्ल्याग डाउन) ८० रुपियाँ र त्यसपछि प्रतिदुई सय मिटरको १० रुपियाँ भाडा तोकिएको छ । १५ किमीभन्दा टाढाको दूरीमा प्रतिकिमी ३७ रूपियाँ ५० पैसा भाडा कायम गरिएको छ । गोरखापत्र अनलाइनबाट