सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ जेठ ।
नेकपा एमाले म्याग्दीको शुक्रबारदेखि सदरमुकाम बेनीमा सुरु हुने दोस्रो प्रतिनिधि परिषद् बैठकको तयारी पुरा भएको छ ।
दुई दिन सम्म चल्ने बैठकको ब्यवस्थापन, प्रचारप्रसारको साथै प्रगति, सांगठनीक, आर्थिक प्रतिवेदन लेखन लगायतका तयारी पुरा भएको एमाले म्याग्दीले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको हो ।
जिविस सभाहलमा सञ्चालन हुने बैठकको नेकपा एमालेका केन्द्रिय कमिटिका सचिव एवं पुर्व उर्जामन्त्री गोकर्ण बिष्टले उद्घाटन र उहाँ सहित केन्द्रिय स्तरका नेताहरुले सम्बोधन गर्नुहुने जनाइएको छ ।दुई सय जना भन्दा बढीको सहभागिता रहने बैठकमा पार्टीको आगामी कार्ययोजना समेत तय गरिने अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । बैठकमा अध्यक्ष श्रेष्ठले राजनीतिक र सचिव बालकृष्ण सुवेदीले सांगठनीक पेस गर्नुहुने जनाइएको छ । अध्यक्ष र सचिवको प्रतिवेदनको छलफल गरेर नयाँ कार्ययोजना निर्माण गरिने एमाले म्याग्दीले जनाएको छ ।
बैठकमा जिल्ला कमिटिका पदाधीकारी, सदस्य, सल्लाहकार, गाविसका अध्यक्ष सहित प्रतिनिधि, ईलाका कमिटि, नगर वडा र जनवर्गीय संगठनको प्रतिनिधित्व रहने सचिव बालकृष्ण सुवेदीले बताउनुभयो । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता र प्रचार प्रसार उपसमितिका संयोजक दिपक कार्कीको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।