विकल्प न्यूज/बेनी
जेठ ३ गते ।
रोजगारीका लागि कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस ९ बगरका २२ वर्षिय केशव तिलीजा मगरको मृत्यु भएको हो ।
पारिवारीक स्रोतका अनुसार शनिबार राती खान खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो । बिहान नउठेपछि उनिसंगै कुबेत पुगेका नेपालीहरुले परिवारलाई खबर गरेका थिए । म्यानपावर कम्पनी मार्फत कानुनी प्रक्रिया पुरा गरेर कुवेत पुगेका तिलीजा कम्पनीमा काम सुरु गर्ने तयारीमा थिए ।
गरिबी, कमजोर पारिवारिक अवस्था, अस्थिरता र बेरोजगारीका कारण जिविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन बिदेश गएका तिलीजाको पुगेको हप्तादिन नपुग्दै निधन भएपछि परिवार र आफन्तजन शोकमा डुवेका छन् ।
शवलाई जतिसक्दो छिटो नेपाल ल्याउन पहल गरिदिन परिवारले कुवेत स्थित दुतावास, सम्बन्धित म्यानपावर कम्पनी र सरकारसंग आग्रह गरेका छन् । बिवाहीत तिलीजाका दुई सन्तान रहेका छन् ।