जलजला गाउँपालिकाको १६ औं गाउँसभाबाट थप एक करोड ३९ लाख बजेट विनियोजन

विकल्प न्यूज/बेनी
फागुन २१ गते ।

पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको हो ।

गाउँसभाले वडा र बिषयगत शाखाको विभिन्न योजनाको बजेट रकमान्त र संशोधन समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँसभाले निर्वाधिन स्टोर तथा आवास भवनको लागि रु ९० लाख बजेट विनियोजन गरेको छ भने अन्य बजेट खानेपानी, शिक्षा लगायतका पूर्वाधार योजनामा विनियोजन गरिएको छ ।

गाउँसभामा उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको थप बजेट सहित विभिन्न योजनाहरुको बजेट रकमान्तर र संसोधन सहितको प्रस्ताब सर्वसम्मतीले पारित भएको थियो । सभामा कार्यसम्पादमा उत्कृष्ट कर्मचारीको रुपमा सूचना तथा सञ्चार प्रविधि अधिकृत सुदिप पौडेल र उत्कृष्ट कर्मचारीको रुपमा सूचना अधिकारी भेषनाथ आचार्यलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गाउँसभामा गाउँपालिकाको चालु आर्थिक बर्षको गत साउनदेखि फागुन २० गतेस्म्मको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले वडा स्तरका विभिन्न ३८ वटा योजना निर्माण सम्पन्न भएको र ८६ वटा योजना सम्झौता भएर कार्यान्वनको चरणमा रहेको जानकारी दिनुभयो ।

गाउँपालिकाको संघीय अनुदान, प्रदेश अनुदान, राजश्व बाडफाँड र आन्तरिक आम्दानी समेत गरी कुल ४७ करोड १० लाख आय हुने अनुमान गरेकोमा हालसम्म रु २५ करोड ७५ लाख ७२ हजार ६४ वास्तविक आय भएर चालुतर्फ ४७ दशमलब ७५ प्रतिशत र पुँजीगततर्फ ३५ दशमलब ९ प्रतिशत बजेट खर्च भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष आचार्यले चालु आर्थिक बर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम र गाउँसभाबाट स्विकृत भएका थप योजना तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयनमा कर्मचारी र जनप्रतिनिधि जुट्नुपर्ने बताउनुभयो ।

उहाँले गाउँसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जिज्ञासा मेटाउँदै गाउँपालिकाले भूगोल र जनसंख्या तथा अत्याबश्यक आवश्यकताहरुलाई ध्यानमा राखेर बजेट विनियोजन गर्ने गरेको बताउँदै कार्यान्वयनमा समेत सबै पक्षबाट सकरात्मक सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गाउँसभा सदस्यहरुले बजेट विनियोजन र योजना कार्यान्वयन तथा सेवा प्रवाहका सम्वन्धमा प्रश्न र जिज्ञासा राखेका थिए ।