पञ्चकोटमा अहिले सम्मकै ठूलो मुक्तिनाथ महाघण्टा स्थापना गरिने

विकल्प न्यूज \बेनी
माघ २० गते ।

 ८ बर्षको लामो प्रयास पछि धार्मिक र पर्यटकीय केन्द्र बागलुङको सर्वसिद्विधाम पन्चकोटमा नेपाल कै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो ५ हजार ५ सय ५५ केजीको मुक्तिनाथ महाघण्टा स्थापना गरिने भएको छ । चरेस धातुबाट निर्माण गरिएको घण्टा फागुन ९ गतेदेखि २३ गतेसम्म हुने अनन्तश्री ब्रह्माण्डिय महायज्ञको अवसरमा स्थापना गरिने भएको छ ।

बागलुङ नगरपालिका ६ सर्वसिद्विधाम पन्चकोटमा नेपालीको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो झण्डै ६ हजार केजीको घण्टी स्थापना गरिने भएको छ । आज भन्दा ८ बर्ष अघि श्रीमुक्तिनाथ महाघण्टी राख्ने भनेर प्रचारप्रसार भए अनुसार निर्माण शुरूवात गरिएको घण्टी निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । अहिले पन्चकोटमा राख्न लागेको घण्टी नेपालकै सबैभन्दा ठूलो बढी तौलको घण्टी भएको यसको निर्माणकार्यको जिम्मेवारी लिएका मुर्तिकारले बताएका छन् ।

मुक्तिनाथ बाबाको संकल्पमा सर्वसिद्विधाम पन्चकोटमा नेपाल मै अहिलेसम्म नभएको ५ हजार ५ सय ५५ केजीको घण्ट स्थापना गर्न लागेको कथा ब्यास नारीरत्न अनुराधा शास्त्रीले बताए । नेपाल कै इतिहासमा मठ मन्दिरमा राखिएको मध्य सबैभन्दा ठूलो घण्टी भएको हँदा यसले बागलुङको धार्मिक केन्द्रमा थप महत्त्व राख्ने विश्वास गरिएको छ ।

ललितपुरको बज्रवाराहीमा झण्डै ८ बर्ष लगाएर घण्टी निर्माण गरिएको शुरूमा ५ हजार ५ सय ५५ केजी तौलको भनिएपनि अहिले ६ हजार केजी पुगेको छ । यसको निर्माण लागत पनि झण्डै १ करोड ५० लाख लाग्ने भएको छ । अहिले धमाधम घण्ट टल्काउने काम अन्तिम चरणमा पुगेको छ । पन्चकोटलाइ धार्मिक पर्यटकीय केन्द्र बनाउन ९ बर्ष अगाडि स्वामी कमलनयनाचार्यले संकल्प गरेका हुन् । फागुन ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले यसको शुभारम्भ गर्ने तयारी छ ।