विकल्प न्यूज/बेनी
माघ ९ गते ।
एकिकृत समाजवादी जलजला कमिटीका अध्यक्ष लालवीर पुन एमालेमा फर्किनुभएको छ । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा एक कार्यक्रमका बीच एकिकृत समाजवादी जलजलाका नेता समेत रहनुभएका पुन एमालेमा फर्किएको पालिका कमिटीका सचिव महेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
नेता पुनलाई नेकपा एमालेका गण्डकी प्रदेश सदस्य लालबहादुर अधिकारीले पार्टीमा स्वागत गर्नुभयो । वडा नम्बर ६ सालिजाका लोकप्रिय नेता समेत रहनुभएका पुन एमाले विभाजनताका नेकपा(एकीकृत समाजवादी) तीर लाग्नुभएको थियो ।
एमालेमा फर्किनुभएका नेता पुनलाई नेकपा एमालेका प्रदेश सदस्य अधिकारीका साथै गाउँपालिका कमिटीका कार्यबाहक अध्यक्ष बावुराम कार्की,सचिव रेग्मी,उपसचिव निलकण्ठ सुवेदी लगायतले पार्टीमा स्वागत गरेका थिए ।
मुलुकको विकास र परिवर्तनका लागि नेकपा एमालेमा गोलबन्द हुन आवश्यक ठानेर आफू एमालेमा फर्किएको नेता पुनले बताउनुभयो । उहाँले जलजलामा रहेका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुलाई पनि पुरानो घर नेकपा एमालेमा फर्किन अनुरोध गर्नुभएको छ ।
पार्टीमा फर्किएका नेता तथा कार्यकर्ताहरुलाई उपयुक्त र सम्मानजनक जिम्मेवारी प्रदान गरिने प्रदेश कमिटी सदस्य अधिकारीले बताउनुभयो । जलजलामा एमालेलाई थप बलियो बनाउन पार्टी छाडेर अन्य पार्टीमा गएका नेता तथा कार्यकर्ताहरुलाई एमालेमै फर्काउन पार्टीले अभियान संचालन गरेको समेत उहाँले जानकारी दिनुभयो । एमालेमा फर्किनुभएका पुन गत अघिल्लो वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एकिकृत समाजवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार समेत हुनुहुन्थ्यो ।