सन्तोष गौतम
म्याग्दी २९ बैशाख ।
म्याग्दीमा निर्धारीत समयमा काम पुरा नगर्ने ठेकेदार जरिवानामा परेका छन् । बेनी–पाखापानी सडक आयोजनाको बेनी–देउराली खण्डको सडक स्तरवृद्धी गर्ने ठेक्का लिएको ठेकेदार कम्पनी शिवशक्तिनाना जेभीलाई कारबाही स्वरुप जरिवाना गरिएको हो ।
जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजनाले ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण समयमै काम पुरा नगरेपछि जरिवाना गरेको जनाएको छ ।
कुल ठेक्का सम्झौता भएको रकम दुई करोड ४७ लाख ८२ हजार ९२३ रुपैयाँको ०.०५ प्रतिशत प्रतिदिनका दरले जरिवाना गरिएको ड्रिलीप आयोजनाका प्रमुख बिबेक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ठेकेदार कम्पनीलाई बैशाख १६ गतेदेखि एक सय दिनसम्म दैनिक १२ हजार ६०५ रुपैयाँका दरले जरिवाना तोकीएको छ ।
एक सय दिनसम्म पनि काम सम्पन्न गर्न नसके धरौटी जफत हुने ब्यवस्था रहेको छ । तिन किलोमिटर १८० मिटर दुरीको सडक स्तरवृद्धी गर्नुपर्नेमा हालसम्म ७० प्रतिशत मात्रै प्रगति भएको केसीले बताउनुभयो । ठेकेदार र आयोजनाबीच वि.स २०७१ असार १ गते सोही वर्षको फागुन मसान्तमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसारको समयमा काम हुन नसकेपछि आयोजनाले ठेकेदारलाई दुई पटक म्याद थप गरेको थियो । आयोजना मार्फत सडक चाक्लो पार्ने, नाली बनाउने, ढलान गर्ने, पर्खाल लगाउने, ग्राभेल गर्ने लगायतका काम हुनुपर्ने जनाइएको छ । नाली निर्माण र पर्खाल लगाउने अधिकांश काम गरिसकेको ठेकेदार कम्पनीले जरिवानामा परेपछि ढलान र ग्राभेल गर्ने तयारी गरेको छ ।
पहिलेको तुलनामा कामदार संख्या बढाउनुका साथै काममा तिब्रता दिएको आयोजनाका कर्मचारीहरुले बताएका छन् । ठेकेदार कम्पनीका प्रतिनिधिले भने सडक प्रभावित क्षेत्रमा जग्गा बिवाद, भुकम्प, नाकाबन्दी र स्थानीय बासिन्दाको असहयोगका कारण काम गर्न ढिलाई भएको बताएका छन् ।