ताजा समाचार:
Search

बुद्धजयन्तीमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, वैशाख २९ गते ।
‘हाम्रो दायित्व गाउँ र देशको विकास, अँध्यारो चिर्दै उज्यालोको निकास’ भन्ने मूल नारासहित म्याग्दीको बेनी नगरपालिका–१२ डडुवामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । २५६०औं बुद्धजयन्तीको अवसरमा आगामी जेठको पहिलो सातादेखि ज्योती युवा क्लब डडुवाको आयोजनामा कार्यक्रम गर्न लागिएको बुधबार बेनीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
विगतका वर्षहरुमा झैं यसवर्ष पनि निरन्तरता दिन र डडुवामा रहेको खेलमैदानको क्षमता विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको ज्योती युवा क्लबले जनाएको छ । बुद्धजयन्तीको अवसरमा जेठ ६ गतेबाट १० गतेसम्म चल्ने मेलामा पुरुष तथा महिला भलिबल, सो डान्स, लठो तान्ने, छेलो फ्याँक्ने, अन्धनिशानलगायतका कार्यक्रम गरिने क्लब सचिव गोविन्द बानियाँले बताए । IMG_0010
पुरुष एवं महिला भलिबलमा क्रमशः प्रथम ३० हजार, १५ हजार, १६ हजार, ७ हजार, सो डान्समा ४ हजार, दुईहजार ५०० तथा लठो तान्ने प्रतियोगितामा १ हजार ५०० र १ हजार रुपैयाँका साथै प्रमाणपत्रसहित मेडलले पुरस्कृत गरिने सचिव बानियाँले जानकारी दिएका छन् । मेला सञ्चालन गर्नका लागि हालसम्म एकलाख रुपैयाँभन्दा बढी पुरस्कारको प्रायोजन भैसकेको छ भने मेलाको कुल खर्च झण्डै एकलाख रुपैयाँ लाग्ने बताइएको छ ।
यसैगरी मेला अवधिभर पूर्णरुपमा मदिरा निषेधित गरिएको छ भने बिक्री वितरण र सेवन गरी अनैतिक कार्य गर्नेलाई कडा कार्वाही गरिने क्लब अध्यक्ष बबिन भण्डारीले बताएका छन् । गत वर्षमा लगाइएको मेलाबाट बचत रकमले शौचालय निर्माण तथा खानेपानीको व्यवस्थापन गरिएको क्लब सचिव बानियाँको भनाई छ ।
ज्योती युवा क्लबले यसअघि गाउँमा हरेक वर्ष बुद्धजयन्ती मेला सञ्चालन, जनचेतना अभिवृद्धि, डडुवालाई मदिरा तथा जुवातास निषेधित गाउँ घोषणा, क्यान्सरपीडित जगत खत्रीको उपचारमा आर्थिक सङ्कलन र युवाहरुलाई सक्षम बनाउन नेतृत्व, व्यक्तित्व विकासका तालिम सञ्चालन गर्दै आइरहेको छ ।