बेनी–पाखापानी सडक कालोपत्र गर्ने योजना यसै वर्ष सुरु हुन्छ–सांसद भण्डारी

बेनी, ११ पुष ।

म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बेनी–पाखापानी सडक कालोपत्रका लागि यही वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुभएको छ ।

म्याग्दीको रघुुगंगा गाउँपालिका–६ फुलडाडा र औलामा बुधबार जनभेटघाटका क्रममा नेकपा (माओवादी केन्द्र)को गाउँपालिका कमिटि अध्यक्ष समेत रहनुभएका सांसद भण्डारीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत बेनी–पाखापानी सडक कालोपत्र गर्ने तयारी भएको जानकारी गराउनुभएको हो ।

“चालुु आर्थिक वर्षमा रु पाँच करोड बजेट बिनियोजन भएको बेनी–पाखापानी सडकका लागि बहुबर्षीय ठेक्का लगाउन रु। २५ करोडको स्रोत सुनिश्चितता भएको छ,” उहाँले भन्नुभयो “पूूर्वाधार विकास कार्यालयले यसै वर्ष २५ करोडको ठेक्का लगाउने तयारी गरेको छ । थप बजेट ब्यवस्थापन गरेर पाखापानी सम्मकै सडक कालोपत्र गर्न पहल गरेका छौ ।”

सांसद भण्डारीले ठाडाखानीको घोप्टेखोलामा मोटरेबल पुल बनाउन रु। पचास लाख र कोटगाउँ–रायखोर सडक निर्माणका लागि रु। तीस लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रिम बहादुर कटुवालले चुनावमा गरेको प्रतिवद्धता अनुसारनै माओवादीका जनप्रतिनिधिहरुले म्याग्दीको विकासका क्षेत्रमा अगुवाई गरेका बताउनुभयो ।

संविधानको रक्षा र कार्यान्वयनका साथै संघीयताको सवलीकरण गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले प्रयास गरिरहेको नेता कटुवालले बताउनुभयो । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी रुपान्तरण अभियान लिएर सांसद भण्डारी र नेता कटुवाल पाखापानी औला पुग्नुभएको हो ।