ताजा समाचार:
Search

अपाङ्गताको क्षेत्रमा क्रियाशिल देशभरका संस्थाका प्रतिनिधी बेनीमा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ बैशाख ।
अपाङ्गता भएका नागरीकको अधिकार र शशक्तिकरणका लागि क्रियाशिल संस्थाहरु आवद्ध समुदायमा आधारित पुर्नस्थापना सञ्जालको २० औ राष्ट्रिय सम्मेलन बुधबारदेखि म्याग्दीको बेनीमा सुरु भएको छ ।

आईएनएफ नेपाल, अपाङ्ग संघ म्याग्दी, नेपाल अपाङ्ग उत्थान समाज पर्वत र अपाङ्गता सरोकार संघ बागलुङको सहआयोजनामा तिन दिनसम्म सञ्चालन हुने सम्मेलनमा सञ्जालमा आवद्ध नेपालका विभिन्न ठाउँ ८६ वटा संस्थाका प्रतिनिधिहरु सहभागि भएका छन् ।
सम्मेलनमा अपाङ्गता भएका नागरीकको अधिकारका लागि भएका पहल, राज्यले उपलब्ध गराउने सेवा सुबिधामा पहुँचको अवस्था, अधिकार उपभोगमा देखिएका समस्या र समाधानका उपायका विषयमा अनुभव आदानप्रदानका साथै छलफल हुने सञ्जालका केन्द्रिय सदस्य बिष्णु गिरीले जानकारी दिनुभयो ।DSC01307

सदस्य गिरीका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक क्षेत्रमा अपाङ्गता भएका नागरीकको अर्थुपूर्ण सहभागीताको सुनिश्चितता, सेवा सुबिधामा सहज पहुँच र सामाजिक, भौतिक बिभेदको अन्त्यका लागि गर्न सकिने पहलका विषयमा योजना समेत तय गरिने भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले अपाङ्गता भएका नागरीकलाई राज्यले प्रदान गर्ने परिचयपत्र, सामाजिक सुरक्षा भत्ता लगायतका सुबिधामा प्रवाहमा देखिएको ब्यवहारीक समस्या र सेवा सुबिधामा सहज पहुँच स्थापित गराउन सरकारी निकायसंग सहकार्य गर्नुपर्ने बताउनुभयो ।

स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले अपाङ्गता भएका नागरीकको नाममा खुलेका संस्थाहरुले उनिहरुको लागि आएको बजेट लक्षित समुदायसम्म नपु¥याई तालीम, गोष्ठि गरेर सक्ने प्रवृतीको अन्त्य गर्न ईमानदारीताका साथ काम गर्न सुझाव दिनुभयो । उहाँले स्थानीय निकायको विकास योजना तथा कार्यक्रम तर्जुमा देखि कार्यान्वयन तहसम्म अपाङ्गता भएका नागरीकको सहभागिता बढ्दै गएको उल्लेख गर्नुभयो ।DSC01280

सञ्जालका संयोजक चिन्तामणी पौडेलको अध्यक्षता, सचिव रत्न शाहीको सञ्चालन र अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको स्वागत मन्तब्यमा सम्पन्न उद्घाटन कार्यक्रममा पलान नेपालको निमित्त क्षेत्रीय संयोजक नितु आचार्य, राष्ट्रिय अपाङ्ग महासंघका सुर्दशन सुवेदी, गैरसरकारी संस्था महासंघ म्याग्दीका सचिव जुना गर्बुजा, राष्ट्रिय बहिरा महासंघका महासचिव केपी अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सञ्जालका सल्लाहकार कृष्णप्रसाद भट्टराईले सम्मेलनको उद्देश्यका बारेमा जानकारी गराउनुभएको कार्यक्रममा जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, विषयगत कार्यालय र गैरसरकारी संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।