सिप सिकेर सक्षम भएकी महिलाको कथा
विकल्प न्यूज/बेनी
बैशाख २७ गते ।
सात वर्ष अघिसम्म म्याग्दीको राम्चे गाविस १ की टकमाया तिलीजाको दैनिकी घरायसी काममै सिमित थियो । घरखर्च चलाउन र छोराछोरीको पढाईखर्चका लागि उनी घरपरिवारका सदस्य तथा आफन्तमा निर्भर हुनुपर्दथ्यो ।
“अहिले आफ्नो खर्च चलाएर पनि आफन्तलाई समेत सहयोग गर्न थालेकी छु” आफ्नो जिवनमा आएको परिवर्तनको बारेमा ४० वर्षिया तिलीजाले भनिन् “म जस्तो गाउँकी महिला घरबाट समाज र जिल्ला तहसम्म आईपुग्नुनै ठूलो सफलता ठानेकी छु ।”
२०६६ सालको माघमा नांगीमा सञ्चालित च्याउ खेती सम्बन्धि तालीममा सहभागि भएपछि टकमायामा सिप र क्षमत्ता बढ्यो अनी मेहनत र साहस गर्नुपर्छ भन्ने विश्वास जाग्यो । गैरसरकारी संस्था संगम म्याग्दीले लद्युउद्यम विकास कार्यक्रम अन्तरगत सञ्चालन गरेको च्याउ खेती सम्बन्धि तालीममा उनीसंगै पाँच जना सहभागि भएका थिए ।
तालीममा सहभागिहरुले म्याग्दी जिल्लामै पहिलो पटक नांगीमा सिताके जातको च्याउ खेती सुरु गर्ने योजना बनाए र सुरु पनि गरे । काठको मुडामा गरिएको सिताके च्याउबाट छिटो उत्पादन र आर्थिक लाभ लिन नसकेपछि समूहका ३ जना सदस्य निश्क्रीया भए ।
टकमाया र उनकी एक सहयात्री भने परिक्षणका लागि गरिएको पहिलो प्रयासबाट पाठ सिकेर सिताके च्याउ खेतीलाई विस्तार गरि व्यवसायिक बन्ने निर्णयमा पुगे । पहिलो पटक उनीहरुले उत्पादन गरेको ३५ किलोग्राम सिताके च्याउको स्वादले अरु स्थानीयबासीको पनि मत जित्यो ।
हिमाञ्चल उच्च माविको परिसरमा रहेको एउटा छाप्रोमा उनीहरुले एक सय ३५ वटा उत्तिसको काठमा सिताके च्याउ खेती सुरु गरेका थिए । पहिलो पटक उत्पादीत च्याउ घरमै उपयोग र छिमेकीलाई चखाएका उनीहरुले दोस्रो एक सिजनमा डेढ सय किलोसम्म च्याउ बेचेका छन् ।
अहिले पनि उनीहरुले च्याउ बिक्री गरिरहेका छन् । सुरुमा च्याउ बिक्री गर्न बजार खोज्दै बागलुङ, कुश्मा र बेनी पुगेका उनीहरुले अहिले गाउँबाटै पाँच सय रुपैयाँ किलोका दरले पोखरा निर्यात गर्न थालेका छन् । स्वास्थ्यवद्र्रक मानिने स्वादीलो सिताके च्याउको मूल्य पोखरामा एक हजार रुपैयाँ प्रतिकिलो छ ।
हाल ९ सय १५ वटा मुढामा सिताके च्याउ लगाएका छन् । मध्य पहाडी क्षेत्रको चिसो हावापानी सिताके जातको च्याउ खेती अनुकुल मानिन्छ । रोग प्रतिरोधात्मक क्षमत्ताका साथै शक्तिव्रर्दक र खानलाई स्वादीलो हुने सिताके च्याउ क्यान्सर रोगका बिरामीले औषधिको रुपमा प्रयोग गर्ने भएकाले बजारको समस्या छैन् ।
समुहमा सदस्य संख्या बढेर २ बाट १० पुगेको छ । उनीहरु घरायसी कामबाट बचेको समय च्याउ खेतीमा लगाउँछन् । एक सिजनमा च्याउ बेचेर पचास हजार रुपैयाँ सम्म आम्दानी भएको तिलीजा बताउछीन् । आम्दानीको केही भाग पारिश्रमिक स्वरुप बाँडफाँड गरेका उनीहरुले केही रकम च्याउ खेती बिस्तारमा लगाएका छन् ।
च्याउ खेतीका लागि जिल्ला कृषि विकास कार्यालय म्याग्दीले प्राबिधिक सहयोग गरेको छ । लद्युउद्यम विकास कार्यक्रमले च्याउ खेतीका गर्न समूहलाई विउ, उपकरण तथा भवन व्यवस्थीत गर्नका दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।
नांगीमा सामूहिक च्याउ खेतीमा संलग्न टकमायाले २०६७ सालमा पर्वतको कुश्मामा मासिक साढे १६ हजार तिर्ने गरी घर भाडामा लिएर कन्य जातको च्याउ खेती सुरु गरीन । त्यसपछि उनको संघर्षले सफलताको रुप लियो ।
बहिनीसंगै च्याउखेती सुरु गरेकी टकमायाले एकै सिजनमा तीन सय किलो च्याउ बिक्री गरीन् । सुरुमा दुई सय रुपैयाँ प्रतिकिलोका दरले च्याउ बिक्री भएकोमा पछिपछि घरबाटै दुई सय ५० रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुन थाल्यो । डेढ वर्ष कुश्मामा च्याउ खेती गरेकी टकमायाले मासिक २५ हजार रुपैयाँ बचत गर्न सफल भएको बताईन् ।
पछिल्लो समय बजारमा च्याउको माग संगै खेती गर्ने कृषक पनि बढ्दै गएका छन् । घरका कोठामा समेत गर्न सकिने भएकाले सहरी क्षेत्रमा पनि यस तर्फ आकर्षण बढ्दै गएको छ । खानलाई स्वादीलो, पर्याप्त भिटामीन पाईने, चिल्लो नहुने र मासु भन्दा सस्तो हुने भएकाले च्याउको बजारमा माग बढेको हो ।
हाल जिल्लाका विभिन्न स्थानका अन्य उद्यमीहरुलाई च्याउ खेती सम्बन्धि तालीम दिन व्यत्त टकमायाले नांगीमै सामूहिक रुपमा च्याउ खेती बिस्तार गर्ने योजना बनाएकी छिन् । गैरसरकारी संस्थाहरुले सञ्चालन गरेका तालीमको सदुपयोग गरेर आफ्नो जिवनलाई परिवर्तन गर्न सफल हुने मध्यमा टकमायाको नाममा म्याग्दीमा अगाडी आउने गरेको छ । भत्ताका लागि तालीममा सहभागि हुने विकृती बढीरहेको समयमा त्यहाँ सिकेको सिपलाई प्रयोग गरेर जिवनस्तर सुधार गर्न सक्षम हुनुनै उनको सकारात्मक पक्ष हो ।
“महिला भएपनि साहस गरेर मेहनत गर्न सक्ने हो भने आफ्नै पौरखमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने लागेको छ” टकमायाले भनिन् “तालीम लिएर घरमै त्यतीकै बसेको भए अहिले यसरी अरुलाई सिप सिकाउन सक्ने थिएन ।” एक÷दुई जनाको अगाडी आफ्नो परिचय दिन समेत नसक्ने विगत सम्झदै टकमाया भन्छिन “आर्थिक रुपमा सक्षम बन्दै गएपछि सामाजिक हैसियत पनि परिवर्तन भएकोमा खुसी छु ।” नवविकल्प अंक ३३ मा प्रकाशित प्र्रस्तुती सन्तोष गौतम
2 thoughts on “सिप सिकेर सक्षम भएकी महिलाको कथा – मेहनतले फेरीयो टकमायाको तक्दिर”