ताजा समाचार:
Search

पूर्वाधार निर्माणसंगै वौद्ध बिहारको मुहार फेरीदै

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,बैशाख २७ गते ।
बेनी नगरपालीका ६ मा रहेको बौद्ध बिहारलाई धार्मीक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न समुदायले लाखौ लगानीमा पूर्वाधार निर्माण गरेका छन् ।

बेनी बजारका बासिन्दा र वौद्ध धर्मालम्बिहरुको करिब ६५ लाख रुपैयाँको लागतमा वौद्ध बिहार, त्यहाँ जाने पदमार्ग, सडक लगायतका पूर्वाधार निर्माण गरिएको हो । वौद्ध बिहारमा पूर्वाधार निर्माणका लागि अन्य धर्म मान्ने व्यक्ति र सरकारी निकायबाट पनि सहयोग प्राप्त भएको छ ।Budda Bihar ko Photo

वौद्ध बिहार भवन, सडक र पदमार्ग निर्माणका लागि समुदाय स्तरबाट पछिल्लो पाँच वर्षयता ६५ लाख रुपैयाँ लगानी भएको म्याग्दी वौद्ध संघका अध्यक्ष यजनलाल शाक्यले जानकारी दिए । वौद्ध बिहारको भवन, स्तुपा निर्माणका लागि बेनी बजारको संगमचोकका बासिन्दा पुण्यबहादुर शाक्य र उनको परिवारले डेढ रोपनी जग्गा निशूल्क उपलब्ध गराएका हुन ।

जग्गादाता शाक्यको सम्मानमा गत वर्ष निर्माण भएको बिहारलाई पुण्यभुमी वौद्ध बिहार नामाकरण गरिएको छ । विश्व शान्तिका अग्रदुत भगवान गौतमवुद्धको बिचार र वौद्ध धर्मका अनुयायीहरुको धार्मीक स्थलका साथै अन्य धर्ममान्नेहरुका लागि पर्यटकीय स्थलको रुपमा बिहारलाई विकास गर्ने उद्देश्य सहित पुर्वाधार निर्माण गरिएको अध्यक्ष शाक्यले बताए ।

सदरमुकाम बेनी बजारको मंगलाघाट बजार माथि रहेको वौद्ध बिहार क्षेत्र शान्त र एकान्त वातावरणमा अवस्थित छ । वौद्ध बिहार परिसरबाट सदरमुकाम बेनी बजार र मंगलाघाटको अवलोकन गर्न सकिन्छ । बिहारमा दैनिक पुजाआजा, साप्ताहीक रुपमा धर्मादेशना हुने गरेको म्याग्दी वौद्ध संघका सचिव याम शाक्यले बताए ।

वौद्ध बिहार परिसर पहिरोको जोखिममा परेपछि जिविसको सहयोगमा तारजाली भरेर ग्याविन पर्खाल लगाई नियन्त्रण गरिएको छ । यस वर्ष जिविसको दुई लाख र पर्यटन कार्यालय पोखराको पाँच लाख रुपैयाँमा प्रवेशद्धार निर्माण र पदमार्गको छेउमा रेलीङ राखिएको छ । यसैगरी बिहार परिसरमा गाडी पुग्ने गरि सडक बनाइएको छ ।

पाँच वर्षअघि टिनले छाएको अस्थाई टहरामा रहेको वौद्ध बिहार परिसरको पूर्वाधार निर्माणसंगै अहिले कायापलट भएको छ । पूर्वाधार सुबिधासंगै भक्तजन र आन्तरीक पर्यटकहरुको आगमन पनि बढ्न थालेको जनाइएको छ । नवविकल्प साप्ताहिकमा प्रकाशित