सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ बैशाख ।
म्याग्दीको फुलबारी–अदीभारा–ओखरबोट–सोले सडक निर्माणका क्रममा बिवाद र अवरोध उत्पन्न भएको छ ।
रुमको अदिभाराबाट सेउलुङको गाडापानी भन्ने ठाउँ हुदै ओखरबोट जोड्ने सडकको ट्याक निर्माणका क्रममा स्थानीयबासी र उपभोक्ता समिति बिच कताबाट सडक लैजाने भन्ने विषयमा बिवाद भएको हो । गाडापानी देखि रुमको ९ नम्बर वडामा पर्ने ईग्रे हुदै ओखरबोट जोड्ने तिन किलोमिटर सडकको ट्याक खोल्ने कार्य बिवाद र स्थानीयको अवरोधका कारण केही दिनदेखि रोकीएको छ ।
अदिभारा देखि गाडापानी सम्म पहिले निर्माण भएको सडकलाई पाँच लाख खर्च गरेर मर्मत गरिएको र त्यहाँबाट अघि बढ्ने क्रममा सेउलुङ र रुम डाँडागाउँका बासिन्दाले नदिएपछि काम रोकीएको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष गोविन्द कडेलले बताउनुभयो ।
सेउलुङ र डाँडागाउँका अगुवाहरुले सर्वेक्षण अनुसार सडक निर्माण गर्दा व्यक्तीका घर, खानेपानीको मुहान जोखिममा पर्ने भएकाले एक घुम्ती माथिबाट सडक लैजान माग गरेका छन् । उपभोक्ता समितिले भने प्राबिधिक सर्वेक्षण विपरीत काम गर्न नसकिने अडान राखेको छ । प्राबिधिकको सिफारीस अनुसार सडक निर्माण गर्न लागिएकाले घर तथा खानेपानीको मुहानलाई असर नगर्ने उपभोक्ता समितिका अध्यक्ष कडेलले बताउनुभयो ।
उहाँले सर्वेक्षण अनुसार सडक निर्माण गर्दा ईग्रे गाउँका दुई सय ५० घरधुरी पनि समेटिने बताउनुभयो । रुम डाँडागाउँका अगुवा पदम पुनले सर्वेक्षण अनुसार सडक खन्दा ७ वटा घर र निर्माणाधिन खानेपानीको आयोजना जोखिममा पर्र्ने बताउनुभयो । उहाँले रुम गाविस क्षेत्रमा सडक निर्माण गर्दा रुमका बासिन्दा र सरोकारवालाहरुलाई जानकारी नगराएको विषयमा आपत्ती जनाउनुभयो ।
अदिभारा हुँदै रितुङ खोलाको किनारै किनार सात वर्षअघि निर्माण भएको सडक घुमाउरो, कटानको समस्या, जोखिमयुक्त र बर्षेनी मर्मत गर्नुपर्ने भएपछि त्यसको विकल्पमा यस वर्ष जिविसको ४० लाख रुपैया सहयोगमा अदिभारा गाडापानी ईग्रे हुदै ओखरबोट जोड्ने सडक आयोजना सञ्चालन गरिएको उपभोक्ता समितिका सचिव हिरा पुनले बताउनुभयो ।
रुमको डाँडागाउँलाई पनि सडक सञ्जालसंग जोड्न अदिभारा–सेउलुङ–औल– डाँडागाउ–सोले सडक आयोजनालाई जिविसले यस वर्ष सात लाख चालीस हजार रुपैया छुट्याएको छ । आयोजनाको बिवाद र अवरोधका विषयमा उपभोक्ता समितिले जिविसमा जानकारी गराएका छन् । जिविसले राजनितिक दल, प्राबिधिक र सरोकारवालाहरुसंग बिवाद समाधान गरि अवरोध हटाउन छलफल सुरु गरेको छ ।