अफगानिस्तान नफापेर गाउँ फर्किएका हरि कृषिमा रमाउदै

विकल्प न्यूज\बेनी
म्याग्दी,मङ्सिर ७ गते ।

बेनी नगरपालिका १० पात्लेखेतका युवा हरी गर्बुजालाई यतिखेर गोलभेडा विक्री गर्न भ्याईनभ्याई छ । स्थानीय एक व्यक्तिको १५ रोपनी जमिन भाडामा लिएर कृषि पेसा थाल्नुभएका गर्बुजाले तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिन सफल हुनुभएको छ । दश वर्ष अघि वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुग्नुभएका गर्बुजा ८ महिनामै स्वदेश फर्किएर व्यावसायिक कृषि पेसा अगाल्नुभएको हो ।

युवा कृषक गर्बुजा यतिखेर दिनहुँ मोटरसाईलमा तरकारी विक्री गर्न बेनी बजार झर्ने गर्नुहुन्छ । गर्वुजाको दैनिकी अचेल विहानै उठेर गोलभेडा टिप्ने र दिउसो माग अनुसारको ठाउँमा पु¥याउने गर्दै चलेको छ । करिव ५० हजारको लगानीमा निर्माण गरेका दुईवटा टनेलमा अहिले लटरम्मै गोलभेडा फलेका छन ।
हाल काठमाडौँमा बसोबास गर्नुहुने धु्रव भट्टचनको करिव १५ रोपनी खेतियोग्य जमिन १० बर्षका लागि भाडामा लिनुभएका गर्वुजाले गत भदौँमा २ क्वीन्टल खुर्सानी उत्पादन गरि विक्री गर्नुभएको थियो ।

८ महिनाको विदेश बसाईमा धेरै दुःखहरु भोगेपछि गर्वुजाले आफ्नै गाउँमा व्यवसाय गरी वस्ने निधो गरी गाउँमै पोल्टी फर्म संचालन गर्नुभएको थियो । यसपछि पात्लेखेतमै लप्सन एण्ड दिप्सन फनिर्चर उद्योग संचालन गरेका गर्वुजाले फर्निचरबाट राम्रो आम्दानी हुन थालेपछि त्यसैबाट आएको कमाईले कृषितर्फ लगानी गरेको उहाँले बताउनुभयो ।

खुर्सानी बेचीसकेँ, अहिले टमाटर विक्री गरिरहेको छु, अव पुसमा विक्री गर्ने गरी लोकल आलु पनि लगाएको छु, गर्वुजाले भन्नुभयो, ‘‘कृषि खेतीबाट मात्रै वार्षिक रुपमा दुई लाख आम्दानी हुन्छ । कृषि खेतीलाई थप विस्तार गर्ने योजना बनाएको छु ।’’

गर्वुजाले गोलभेडा होलसेलमा १०० रुपियाँ किलो विक्री हुने उहाँले बताउनुभयो । पसलहरुमा भन्दा पनि होटलहरुलाई सम्पर्क गरेर गोलभेडा पु¥याएको छु, उहाँले भन्नुभयो । कृषि उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि फर्म नै दर्ता गरी टनेल थप गर्ने तथा अन्य खेतीहरु पनि विस्तार गर्ने उहाँले योजना बनाउनुभएको छ ।

अहिले कम लगानीबाट कम उत्पादन र कम आम्दानी छ, पछि लगानी बढाउँदै जाँदा उत्पादन र आम्दानी पनि बृद्धि हुँदै जाला, गर्वुजाले भन्नुभयो । आफ्नै गाउँघरको माटोमा गरेको मेहनत र लगानीले भोको बस्न नपर्ने भन्दै युवाहरुलाई उद्यमशिल बनाउनका लागि स्थानीय सरकारले पनि विशेष चासो दिनुपर्ने उहाँको भनाई छ ।