रघुगंगामा एक युवा चारदिन देखि अनसनमा

विकल्प न्यूज/बेनी
म्याग्दी,मंसिर ७ गते ।


स्थानीय सरकारसँग आधारभूत अस्पताल र रोजगार सिर्जनाको माग राख्दै यहाँका एक युवा चारदिन देखि आमरण अनसनमा बस्नुभएको छ । रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा स्थानीय युवा रमेश गुरुङ(विप्लब) अनसन वस्नुभएको हो ।

गाउँपालिकामा विवादीत बनेको आधारभूत अस्पताल उपयुक्त स्थानमा बनाउनुपर्ने र गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरुमा स्थानीय जनशक्तिले काम गर्ने वातावरण सिर्जना गर्न माग राख्दै रघुगंगा गाउँपालिका–३ पिप्लेका युवा गुरुङ आमरणमा बसेको चारदिन पुगेको छ ।
गत सोमबार गाउँपालिका कार्यालयमा आफ्नो दुई बुँंदे मागपत्र दर्ता गरी दिउँसो १२ बजेदेखि गुरुङले आमरण अनसन सुरु गर्नुभएको थियो । मागपत्रमा गाउँपालिकाको आधारभूत अस्पताल गाउँपालिकाको सबै क्षेत्रलाई पायक पर्ने गरि गाउँपालिकाको केन्द्र रहेकै वडाको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर बनाउनुपर्ने र गाउँपालिकाभित्र निर्माणधिन जलविद्युत आयोजनाहरुमा गाउँपालिकाका बेरोजगार युवायुवतीलाई तालिम प्रदान गरेर रोजगारको व्यवस्था गर्न माग गरिएको छ ।

जनचासो र गाउँपालिकाको महत्वपूर्ण बिषयलाई जनप्रतिनिधिले वेवास्ता गरेको र जनतालाई धोका दिने काम भएपछि आफुले आमरण अनसन सुरु गरेको गुरुङले बताउनुभयो । उहाँले आफ्नो माग सम्बोधन नभएसम्म अनसनलाई नतोड्ने बताउनुभयो ।

विहिवार गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी,उपाध्यक्ष प्रेमकुमारी लगायतका जनप्रतिनिधिहरु अनसन स्थलमा पुगेर गुरुङले राखेका मागहरुलाई आगमी दिनमा सम्बोधन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । तर गुरुङले आफूले राखेका मागहरुका वारेमा लिखित प्रतिबद्धता चाहिने भन्दै अनसन तोड्न अस्विकार गर्नुभएको छ ।

गुरुङले उठाएको अस्पतालको विषयमा गाउँसभाले वडा नम्बर १ बेगमा अस्पताल बनाउन बहुमतले निर्णय गरि अस्पताल बनाउने प्रक्रिया सुरु भएकाले अन्यत्र सार्न संभव नहुने पालिका अध्यक्ष भण्डारीले बताउनुभयो । अन्य मागहरुका विषयमा भने गाउँपालिका सकरात्मक भएको उहाँले बताउनुभयो ।