विकल्प न्यूज/बेनी
बैशाख २५ गते ।
बेनीमा रहेको म्याग्दी सामुदायिक पुस्तकालयलाई शनिबार छ सय थान पुस्तक सहयोग प्राप्त भएको छ । बरिष्ठ साहित्यिकार दामोदर पुडासैनीले पाँच सय र पुस्तकालयका संस्थापक अध्यक्ष गोपालनारायण भट्टचनले एक सय थान पुस्तक सहयोग गरेका हुन ।
पुस्तकालयले आयोजना गरेको साहित्यिक गोष्ठि तथा सम्मान कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष सन्तोष रावललाई पुडासैनी र भट्टचनले पुस्तक उपलब्ध गराएका हुन । सो कार्यक्रममा म्याग्दी पुस्तकालयको विकासमा योगदान गर्नुहुने संस्थापक अध्यक्ष भट्टचन लगायत नौ जना पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
सम्मानीत हुनेहरुमा डाक्टर भूपेन्द्रबहादुर खड्का, सुवासकुमार श्रेष्ठ, सुदर्शनकुमार श्रेष्ठ, सञ्जयकुमार श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, किरण सापकोटा, सुरजकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष धनञ्जयकुमार श्रेष्ठलाई अबिर र टिका लगाई सम्मानपत्रले प्रदान गरिएको थियो । उक्त अवसरमा म्याग्दीका साहित्यकारहरुले आ–आफ्नो रचना वाचन गरेका थिए ।
पुस्तक सहयोग गरेका साहित्यकार पुडासैनीले पुस्तकको कुनै क्षतिपूर्ति दिएर त्यो पुरा हुन नसक्ने बताउँदै पुस्तकप्रतिको आक्रमण संस्कार विरुद्धको भएको टिप्पणी गरे । उनले समाजको रुपान्तरण र विकासमा पुस्तकालयको महत्वपूर्ण भुमिका रहने बताए ।
यसैगरी म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष सुविनकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष भट्टचन र म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । पुस्तकालयका अध्यक्ष सन्तोष रावलको अध्यक्षता, उपाध्यक्ष अम्बिककुमार श्रेष्ठको स्वागत र सहसचिव नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।