मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित

काठमाडौं, कात्तिक १ गते ।

विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के. एण्ड आर. इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानी गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो ।

इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता केही समयअघि गरेसँगै परियोजना बनाउनको लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको मुक्तिनाथका अध्यक्ष अरुण सुवेदीले बताउनुभयो । उहाँले इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना भएको भन्दै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपियाँ लागत अनुमान गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष सुवेदीले समझदारीअनुसार कुल लागतको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपियाँ के. एण्ड आर. इन्जिनियरिङले लगानी गर्ने  बताउनुभयो । उहाँले आयोजनाको वातावरण मूल्याङ्कन प्रतिवेदन पास हुने र सरकारसँग आयोजना विकास सम्झौता गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले नेपालका कानुनी प्रक्रियाहरु लामा भएकाले प्रक्रिया पूरा गर्नका लागि काम गरिहेको भन्दै १८० दिनभित्र पूरा गरी योजना निर्माणको विषयमा के. एण्ड आर. इन्जिनियरिङसँग सम्झौता गर्ने बताउनुभयो ।

उहाँले मुक्तिनाथ केबलकार परियोजना बनाउनका लागि ८० प्रतिशत वित्तीय स्रोत जुटेको भन्दै बाँकी २० प्रतिशत वित्तीय स्रोत नेपाल र बाहिरी कम्पनीहरुले इकुटीको रुपमा जुटाउने बताउनुभयो । उहाँले आयोजना निर्माणको लागि ९० प्रतिशत जग्गा खरिद गर्ने काम सकिएको भन्दै बाँकी  १० प्रतिशत पनि लिने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्नुभयो । उहाँले वातावरण प्रभाव मूल्याङ्कनको ड्राभ रिपाेर्ट आइसकेको बताउनुभयो । उहाँले मुक्तिनाथ केवलकार विश्वकै सबैभन्दा लामो केबलकार प्रणाली हुने बताउनुभयो ।

अध्यक्ष सुवेदीले मुक्तिनाथ केबलकार निर्माण सम्पन्न भएपछि गिनिज बुकमा नाम रहने बताउनुभयो । उहाँले मुक्तिनाथ जाँदा सडक खतरायुक्त, हवाई मार्ग पनि खतरा जस्ता समस्याहरुले केवलकार हुने बताउनुभयो । मुक्तिनाथ मन्दिर विष्णुका स्वयम्भू सर्वप्राचीन पौराणिक ८ धाममध्ये एउटा भएको उहाँको भनाइ छ । उहाँले मुक्तिनाथ केबलकार आयोजना निर्माणको लागि केपी ओली प्राधनमन्त्री हुँदा लगानी बोर्डले लाइसेन्स दिएर सम्झौता भएको जानकारी दिनुभयो ।  उहाँले नेपालको कानुनी झमेला र कानुनी प्रतिकूलता नगरिदिए मात्रै पनि धेरै ठूलो सहयोग निजी क्षेत्रलाई पुग्ने बताउनुभयो । उहाँले आयोजना सम्पन्न भएपछि ७० अर्बसम्म राष्ट्रको जीडीपीमा योगदान गर्ने भन्दै नौ अर्ब रुपियाँ सरकारलाई राजस्व मात्रै जाने बताउनुभयो ।

मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सकिएको दुई वर्ष भइसकेको छ । यस्तै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथले केबलकारको डिपिआर तयार पारी २०७८  कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो । इआइएको स्वीकृतिमा भएको ढिलाइले रोकिएको थियो ।

केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन् । यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्नेछ । ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ । केबलकारमा ७ सय ७६ वटा गोण्डोला राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केबलकार १ हजारदेखि ३ हजार ७ सय मिटर उचाइसम्म पुग्नेछ ।

प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना केवलकार योजनाको  छ । केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ । दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर रहनेछ । पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैटाैं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ । वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ । gorkhapatraonline