ताजा समाचार:
Search

पत्रकारिता दिवस ः आचार संहिताको पालना गर्न पत्रकारहरुलाई सुझाव

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ बैशाख ।
म्याग्दीका सरोकारवालाहरुले पत्रकार तथा सञ्चारकर्मीलाई आचार संहिताको ब्यवहारीक पालना गर्न सुझाव दिएका छन् ।

प्रथम राष्ट्रिय पत्रकारीता दिवसको अवसरमा शुक्रबार बेनीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि सरकारी अधिकारी, राजनीतिकर्मी, नागरिक समाज, निजी र गैरसरकारी क्षेत्रका अगुवाहरुले आचार संहिताको पालनाप्रती सचेत रहन आग्रह गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले शुसासन र विकासका लागि उत्तरदायी, जिम्मेवार र व्यवस्थित पत्रकारीताको आवश्यकता रहेको बताउनुभयो । उहाँले पत्रकारिता पेशालाई ब्यवसायिक बनाउन र प्रर्वद्धन गर्न सरकारले पहल गरिरहेको बताउनुभयो ।DSC01056जिल्लामा पत्रकार र सञ्चार माध्यमको विकासका लागि सूचना तथा विज्ञापन प्रकाशन गर्दा स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिनुपर्ने प्रजिअ आचार्यको भनाई थियो ।
नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एकिकृत नेकपा माओवादीका सहईञ्चार्ज गोविन्द पौडेल, राप्रपाका अध्यक्ष एकेन्द्र रावल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्मा र जनमुक्ति पार्टीका अध्यक्ष नरबहादुर थापाले संबिधान कार्यान्वयनमा सञ्चार माध्यमको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

उहाँहरुले पत्रकारिता आचार संहिताको ब्यवहारीक रुपमा पालना, दिगो, गुणस्तरीय, सन्तुलित रुपमा रचनात्मक आलोचना सहितको समाचार लेखनमा प्राथमिकता दिन सुझाव दिनुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल र नागरिक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठले जिल्लाको विकास, सम्भावना र समस्याको उजागर गरी विकासको गतीलाई अघि बढाउन पत्रकारीताको सक्रिय भुमिका आवश्यक रहेको बताउनुभयो ।DSC01044

अन्तरक्रिया कार्यक्रम सुरु हुनुपुर्व राजनीतिक दल, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षा निकाय, संघ संस्था र पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागितामा जिल्ला प्रशासन कार्यालयदेखि प्रभातफेरी गरेर बजार परिक्रमा गरिएको थियो ।

पत्रकारीता दिवस मुल समारोह समितिका संयोजक समेत रहनुभएका प्रजिअ केशव आचार्यको अध्यक्षता, जिविसका सूचना अधिकृत पदम भण्डारीको सञ्चालन र पत्रकार महासंघका कार्यबाहक अध्यक्ष ठाकुरप्रसाद आचार्यको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा रेडियो म्याग्दीका स्टेशन म्यानेजर गोपाल छन्त्यालले जिल्लाका सञ्चार माध्यम तथा पत्रकारहरुको बस्तुगत अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

वि.स १९५८ बैशाख २४ गते गोरखापत्र दैनिक प्रकाशन भएको मितीलाई आधार मानेर सरकारले यस वर्षदेखि पत्रकारीता दिवस मनाउन लागेको हो । त्रिदिवसीय कार्यक्रम सहित दिवस मनाउने योजना अनुसार बिहीबार कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेल भएको थियो । शनिबार नदी सरसफाई र रक्तदान कार्यक्रम गरेर दिवस समापन गरिने जनाइएको छ ।