व्याजदर घटाउन बेनीका उद्योगी व्यवसायीको माग

विकल्प न्यूज/बेनी
असोज १३ गते ।


बेनीका उद्योगी, व्यवसायीहरुले बैंकको व्याजदर घटाउनमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी, व्यवसायी र बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरुबीच अन्तत्र्रिmया कार्यक्रममा उद्योगी, व्यवसायीहरुले बैंकका प्रवन्धकलाई आग्रह गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार तथा व्यवसाय दिनप्रतिदिन खस्कँदै गएकाले व्यापार कम र आम्दानी घटेको प्रसङ्ग उल्लेख गर्दै बैंकहरुले पनि व्याजदर घटाएर उद्योगी, व्यवसायीहरुलाई सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकर्स संघमार्फत राष्ट्र बैंकसमक्ष उद्योगी, व्यवसायीहरुको समस्या समाधानको पहल गरिदिन आग्रह गर्नुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं बेनी नगरपालिका–८, का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बैंकहरुले व्याजदर बढाउँदा ऋणीहरुलाई पूर्व जानकारी गराउन माग गर्नुभयो । उहाँले बैंकहरुले लगानी गर्दै आइरहेको शैक्षिण ऋण लगानी गर्ने क्रममा पनि सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उद्योगी, व्यवसायीहरुबाट ऋण असुली नम्र तरिकाले गर्नुपर्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले आठ प्रतिशतमा लगानी गरेको बैंकले एकैपटक व्याजदर १२ प्रतिशतमा पु¥याउँदा उद्योगी, व्यवसायीहरु समस्यामा परेको बताउँदै बैंकहरुसँग पनि स्पष्ट योजना नभएको उल्लेख गर्नुभयो ।

संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बैंक र उद्योगी व्यवसायीको बीचमा नङ र मासुको सम्बन्ध हुनुपर्ने बताउनुभयो। अन्तरक्रियामा बोल्ने ब्यवसायीले ऋणीलाई थाहै नदिइकन व्याजदर बढाउँदा समस्या उत्पन्न भएको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायीहरुले उठाएको प्रश्नको जवाफ दिँदै बैंकर्स क्लब म्याग्दीका अध्यक्ष नवराज ढुङ्गानाले बैंकको व्याज दिने र लिने दुवै नीति रहेको जानकारी दिनुभयो । राष्ट्रिय वाणिज्य बैंक म्याग्दी शाखाका शाखा प्रवन्धक समेत रहनुभएका अध्यक्ष ढुङ्गानाले अहिले व्याजदरको विषयमा हरेक महिनाको अन्तिम दिन राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन हुँदै आएको बताउनुभयो । राष्ट्र बैंकको नीतिअनुसार व्याजदर परिवर्तन हुने भएकाले पहिला ग्राहकलाई जानकारी दिने गरिएकोमा अहिले राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरेपछि पुग्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्नका लागि बैंक तथा वित्तीय संघसंस्थाहरुले आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बैंक तथा वित्तीय संस्थाले उद्योगी, व्यवसायीलाई कर्जा लगानी र असुलीको सन्दर्भमा सहजीकरणका लागि आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

म्याग्दीमा उद्योगी, व्यवसायी ब्यापार घट्दै र व्याजदर तथा महङ्गी बढ्दै जाँदा ब्यवसाय छोडेर विदेश पलायन बढ्दो छ ।