मल्लाज पूर्णगाउँको सुन्दर बराह ताल बगरमा परिणत

विकल्प न्यूज\बेनी
भदौ २५ गते ।

पहिरोले बगरमा परिणत भएको ताल । तस्विर कुशल जिसी

जलजला गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्वको आदीवराह मन्दिर नीलो तालमाथि तैरिएर बसे जस्तो देखिन्थ्यो। बाढीका कारण गेगरसहितको माटोले पुरिएर ताल अहिले बगर जस्तै बनेको छ।

स्वच्छ, सफा तालले यहाँको सौन्दर्यलाई निकै बढाएको थियो। गाउँपालिका–२, मूल घडेरी भन्ने स्थानमा रहेको त्यही ताल भने बाढीका कारण बगर बन्दा स्थानीय चिन्तित बनेका छन्। ताल मात्र नभई त्यसमा रहेको वराह मन्दिरसमेत डुबानमा परेको छ।

स्थानीय बासिन्दाका अनुसार नीलो तालको बिचमा बैँस वृक्षसँगै रहेको वराहको मन्दिर साह्रै नै मनमोहक देखिन्थ्यो। एक हजार नौ सय मिटर उचाइमा रहेको तालमा माछा पनि थिए। तीन मिटर गहिरो तालको वरिपरि पर्खाल छ। ताल बगर बनेपछि मूलको पानी बगरमाथिबाट तलतिर बग्दै गएको छ।

स्थानीय थलबहादुर घर्ती क्षेत्री भन्नुहुन्छ, “यो वराह मन्दिर रहेको ताल प्राकृतिक हो। यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२ औँ शताब्दीसम्म पुगिन्छ। यहाँका घर्ती, क्षेत्रीले इष्टदेवका रूपमा वराह देवताको पूजा गर्दै आएको भए पनि सबै जातजातिले वराह देवताप्रति विश्वास र आस्था राखेर पूजा गर्दछन्। वराह देवता रहेको तालमा टाढा टाढाबाट सेता जलहाँस उड्दै आएर पौडी खेलेको देख्न पाइन्थ्यो।” बगरमा परिणत हुनु भन्दा पहिला तालको दृश्य । तस्विर ठाकुरप्रसाद आचार्य

आदिवराह ताल मन्दिरभन्दा धेरैमाथि रहेको कुवापानी पहाडबाट गत साउन ६ गते राति पहिरो बग्दै आएर बाढी पसेपछि ताल कमेरो माटोसहितको लेदोले भरिएको छ। साढे तीन रोपनी क्षेत्रफलमा फैलिएको सुन्दर ताल अहिले उराठलाग्दो बगर जस्तै देखिन्छ। प्रत्येक वर्ष जनैपूर्णिमामा आदिवराह ताल मन्दिरमा भव्य पूजासहित मेला लाग्ने गर्दछ। मेला हेर्न र वराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको भिड लाग्छ। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार दलदले हिलो माटो पन्छाएर वराह मन्दिरको पूजा गरिएको थियो।

जनैपूर्णिमाका दिन आदिवराह देवताको पूजा गरेमा आफूले गरेको भाकल पूरा हुने विश्वास भक्तजनको छ। मन्दिरका मस्ट (झाँक्री ) डम्बरबहादुर घर्ती भन्नुहुन्छ, “वराह मन्दिरमा वर्षमा दुई पटक पूजा हुन्छ। एक पटक जनैपूर्णिमा र खास गरी मस्ट पूजन गर्नेहरूले वराह देवतालाई इष्टदेवताका रूपमा पाँच वर्षमा एक पटक पूजा गर्दछन्।”

स्थानीय टेकबहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा ताल संरक्षण समिति गठन गरिएको छ।  समितिका अध्यक्ष घर्तीका अनुसार आर्थिक बजेटको अभावमा तालभित्रको कमेरो लेदो माटो हटाउन र तालसम्म पुग्ने कच्ची बाटो बनाउन सकिएको छैन। गाउँपालिकासँग यसका लागि बजेट नभएकाले प्रदेश सरकारसँग ताल संरक्षणका लागि तत्काल ५० लाख रुपियाँ रकम माग प्रस्ताव गरेको अध्यक्ष घर्तीले बताउनुभयो। रकम प्राप्त भएपछि मात्र ताल संरक्षणको काम सुरु गर्न सकिने अध्यक्ष घर्तीको भनाइ छ।  gorkhapatra