प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, वैशाख २१ गते ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका सञ्चालक नानीकाजी श्रेष्ठले सहकारीले व्यावसायिक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । अन्तरजिल्ला सहकारी भ्रमणमा म्याग्दी आएको संघको टोलीलाई स्थानीय दिदीबहिनी बचत तथा ऋण सहकारीले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सहकारीले बचत तथा ऋणको मात्रै कारोबार नगरी व्यावसायिक र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा उनले जोड दिएका थिए । संस्था नेतृत्वले नभई नीतिले चल्ने हुँदा सहकारीको मूल्यमान्यता र नीति नियमअनुसार सहकारी सञ्चालन गर्नुपर्ने भन्दै श्रेष्ठले सहकारीको कार्यक्षेत्र र शेयर सदस्य बढाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले दिदीबहिनी सहकारी एक प्रेरणाको रुपमा स्थापित भएको बताउँदै महिला सहकारीको कार्यक्रम र कामबाट आफूहरु प्रभावित भएको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा सिँचाई बचत तथा ऋण सहकारीका अध्यक्ष बाबा शाक्य, आदिनाथ सहकारीका सञ्चालक श्यामगोपाल महर्जन, नेपा सहकारीका ऋण अधिकृत राजेन्द्रप्रसाद मुल्मी र विनायकका अध्यक्ष अस्तराम महर्जनले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा दुई सहकारीबीच सहकारीका गतिविधि, सञ्चालित क्रियाकलाप, कारोबारलगायतका विषयहरुमा अन्तत्र्रिmया र छलफल गरिएको थियो । कार्यक्रम दिदीबहिनी बचत तथा ऋण सहकारीका अध्यक्ष जमुना आचार्यको अध्यक्षता, सचिव विष्णु गौतमको सञ्चालन र सहसचिव सुगम श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।