ताजा समाचार:
Search

राजधानीमा वसेर म्याग्दीको आवाधिक जिल्ला विकास योजना बनाइदै

विकल्प न्यूज/बेनी
बैशाख २१ गते ।
म्याग्दी जिल्लाको पाँच वर्षे आवधिक जिल्ला विकास योजना बनाउने तयारी भएपनि समुदायस्तरमा नपुगी बनाउन थालिएको प्रति तिव्र गुनासो आएको छ ।
आर्थिक वर्ष २०७३/७४ देखि ०७७/७८ सम्म जिल्लाको विकासका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमको लक्ष्य निर्धारण सहितको रुपरेखा तयार पार्न आवधिक योजना बनाउन लागिएको हो ।
जिल्ला विकास समितिले बनाउन लागेको योजनामा जिल्लाको विकासका सम्भावनाको लक्ष्य र त्यसलाई सफल बनाउन गर्नुपर्ने क्रियाकलाप उल्लेख गरिने स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार आवधिक योजनालाई आधार बनाएर विषयगत कार्यालय र संघ संस्थाले योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । आवधिक योजनाले विकास गतिबिधिलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । म्याग्दीमा दोस्रो पटक आवधिक जिल्ला विकास योजना तयार पार्न लागिएको हो ।

यसअघि तयार पारिएको आवधिक जिल्ला विकास योजनाको समयावधि आर्थिक वर्ष २०६३/६४ देखि सकिएको थियो । जिल्ला विकास योजना तयार गर्न जिविसले गत कात्तिकमा नेष्ट ईको कोड नेपाल नामक परामर्शदाता कम्पनीसंग १८ लाख ६८ हजार ४२६ रुपैयाँमा सम्झौता गरेको थियो ।
सम्झौतामा उल्लेख भएअनुसारका कार्यहरु गर्न कम्पनीले आनाकानी गरेको देखिन्छ । पहिलो चरणको छलफल र अन्तरक्रिया सकेर काठमाण्डौ फर्किएको टोली अझै जिल्लामा नआएको जिविस स्रोतले बताएको छ । स्रोतका अनुसार कम्पनीले काठमाण्डौमै वसेर जिल्लाको आवधिक योजना बनाउन लागेको हो ।gbs सम्झौता अनुसार आगामी असार महिनाभित्र परामर्शदाता कम्पनीले योजना तयार पारेर जिल्ला विकास समितिलाई उपलब्ध गराउने गरि काम गरिरहेको जिविसका सूचना अधिकृत पदम भण्डारीले जानकारी दिए । उनले यस्तो बताएपनि जिल्लाका सरोकारवाला निकायहरु सँग प्रारम्भिक छलफल गरेर राजधानी फर्किउको परामर्श दाताले अझै जिल्ला आएको छैन ।
प्रारम्भिक चरणमा जिल्लाका सरोकारवालाहरुलाई आवधिक योजनाको महत्वका बारेमा जानकारी गराउने, उनिहरुसंग राय सुझाव लिने र विषयगत कार्यालय तथा संघ संस्थाबाट तथ्याङ्क संकलनको कामलाई तिब्रता दिएको कम्पनीले जनाएपनि प्रभावकारी हुन सकेको छैन ।

पुर्वतयारी, विषयगत र इलाका स्तरमा गोष्ठि गरेर स्थानीय स्तरका आवश्यकता पहिचान गरेर अहिले तथ्याङ्क संकलन र जिल्ला स्थित सरोकारवालासंग सुझाव लिने काम भैरहेको संस्थाका प्रतिनिधि शोभा पौडेलले बताइन । उनका अनुसार संकलित तथ्याङ्क र समस्यालाई विश्लेषण गरेर दिर्घकालीन सोच गोष्ठि गरि त्यहाँ प्राप्त सुझावको आधारमा आवधिक योजनालाई अन्तिम रुप दिने तयारी भएको उनको भनाई छ ।

जिल्लाका सारोकारवालाहरुले भने आवधिक जिल्ला विकास योजना जस्तो दिर्घकालीन महत्व राख्ने दस्तावेज तयार गर्ने कामलाई औपचारीकतामा सिमीत बनाइएको भन्दै जिविस र सम्बन्धित कम्पनीप्रती गुनासो गरेका छन् ।

समुदाय स्तरमा नपुगीकन आवधिक योजना बनाउँदा वास्तविक आवश्यकता पहिचान नुहने र योजना कार्यान्वयनमा समस्या हुने सरोकारवालाहरुको भनाई छ । गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले आवधिक जिल्ला विकास योजनालाई ब्यवहारीक कार्यान्वयन गर्न सकिने किसीमको बनाउनुपर्ने बताए ।