सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,बैशाख २१ गते ।
बेनी नगरपालीका ६ मंगलाघाटका भिमबहादुर रिजाल वि.स २०६० जेठ ५ गतेको साँझलाई स्मरण गर्दा गहभरी आँशु बनाउँछन् । जुन दिन घरको कोठाभित्र बसेर टेलिभिजन हेरीरहेका रिजालका बुवा कुलबहादुर संगै पाहुना आएका अन्य दुई जना आफन्तको समेत बम बिस्फोटमा परेर ज्यान गएको थियो ।
तत्कालीन द्धन्दरत पक्ष माओवादीले बिस्फोट गराएको शंका गरीएपनि १३ वर्षसम्म उक्त घटनाको कारण र दोषीको पहिचान नहुँदा भिमबहादुरको परिवार दःुखी भएको थियो । लामो प्रतिक्षापछि सत्य निरुपण तथा मेलमिलाप आयोगले द्धन्दको समयमा भएको मानवअधिकारको गम्भिर उल्लङ्घनका कारण पीडित भएकाहरुबाट उजुरी लिन सुरु गरेकाले उहाँलाई न्याय पाउनेमा आशा पलाएको छ ।
‘घरको कोठाभित्रै आएर बम बिस्फोट गराई बुवा र पाहुना आएका आफन्तको हत्या गर्नुको कारण छानविन गरी दोषी पहिचान हुनुपर्छ’ स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी दर्ता गराउन आएका रिजालले भने ‘आयोगले घटनाको छानविन गरेर वास्तवीकता र दोषी पत्ता लगाउने तथा परिपुरण र क्षत्तीपुर्तीको व्यवस्था गर्ने अपेक्षा सहित उजुरी दिएको छु ।’
उक्त बिस्फोटमा रिजालका बुवासंगै पाहुना आएका दधीकला खड्का र सरस्वती कार्कीको मृत्यु भएको थियो । रिजालमात्र नभएर वि.स २०६३ असार १६ गते बागलुङको घोडाबान्नेमा तत्कालीन सैनीकद्धारा हत्या गरिएका पाखापानी ७ कोटगाउँका पुस्कर पुनका बुवा दलप्रसादको पनि आयोगप्रती उस्तै अपेक्षा छ ।
‘निशस्त्र व्यक्तिलाई पक्राउ गरेर सेना पक्षले माओवादीको आरोपमा १३ दिनसम्म चरम यातना दिएर छोराका हत्या गरेका थिए’ ५५ वर्षिय दलप्रसादले भने ‘आयोगले छानविन गरेर दोषी पत्ता लगाई न्याय दिने आशा छ ।’ छोराको मृत्यु र तिन छोरीले बिवाह गरेर गएपछि घरमा उनी र श्रीमती मात्र छन् ।
उहाँले आयोगले जिविकोपार्जनका लागि परिपुरणको ब्यवस्था र यातना दिएर हत्या गर्नेलाई कानुन अनुसारको कारबाही गर्न सिफारीस गर्ने अपेक्षा गरेका छन् । आयोगमा उजुरी गर्न आउने धेरैले न्याय, क्षत्तीपुर्ती र परिपुरणको ब्यवस्थाको अपेक्षा गरेका स्थानीय शान्ति समिति म्याग्दीका सचिव विज्ञान सुवेदीले बताए । उनका अनुसार शुक्रबार सम्म सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि ३५ र वेपत्ता छानविन सम्बन्धि तिन वटा उजुरी समिती मार्फत आयोगमा दर्ता भएका छन् ।
द्धन्द्धको समयमा मानवअधिकारको गम्भिर उल्लङघनको परिमाण स्वरुप मृत्यु भएको, अपहरण तथा शरीर बन्धक बनाइएको, शारीरीक र मानसीक यातना, यौनजन्य हिंसा, आर्थिक रुपमा हानी नोक्सानी पुगेको र थुनामा परेको व्यक्तीले आयोगमा उजुरी गर्न पाउने व्यवस्था छ । नवविकल्प अंक ३२ मा प्रकाशित