बेनीमा गोलभेडाको मुल्य एकसय पचास पुग्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन २३ गते ।

म्याग्दीको सदरमुकाम बेनीमा गोलभेडाको मुल्य प्रतिकिलो एकसय पचास पुगेको छ । दुईहप्ता अघिसम्म ८० देखि ९० रुपियाँमा किनबेच भइरहेको गोलभेडा एकहप्ता यता मुल्य ह्वातै बढेको हो । मुल्य बढ्दा किसानलाई फाइदा भएको छ भने उपभोक्ताले चर्को मुल्यमा खरिद गर्नुपर्ने बाध्यता भएको छ । नेपाली गोलभेडा भारतीय बजारमा जानथालेका कारण मुल्य बढेको तरकारी व्यवसायीहरुले बताएका छन् ।


वर्षातको समयमा उत्पादन कम भएकाले गोलभेडाको मुल्यमा भारी वृद्धि भएको बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘किसानले नै यसपाली गोलभेडाको मुल्य बढाएका छन् । एकसय २० देखि एकसय ३० रुपियाँ सम्म हाम्रो खरिद पर्दछ । बजारमा गोलभेडाको आपूर्ती नै कम भएको छ । भारतको बजारमा गोलभेडाको मुल्य आकाशिएको छ । नेपाली गोलभेडा भारतीय बजारमा गएकाले यता वृद्धि भएको हो ।’’ तराई लगायतका स्थानहरुबाट नेपाली गोलभेडा भारतीय बजारमा पुगेको उहाँले बताउनुभयो ।
अन्य सिजनमा सस्तोमा गोलभेडा विक्री गर्दा परिश्रम र लगानी उठाउन सकिएको थिएन यसपाली गोलभेडाले राम्रो बजार पाउँदा हामी किसानहरु खुसी भएका छौं जलजला ७ का गोलभेडा उत्पादक किसान रामु आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दुःख र परिश्रम गरेर उत्पादन गरेको तरकारीले मुल्य पाउन सकेका थिएनौं । यसपाली गोलभेडाले राम्रो मु्ल्य पाउँदा खुसी लागेको छ । बजारमा गोलभेडा खोसाखोस हुन्छ । आफूले तोकेको मुल्यमा सहजै विक्री हुन्छ ।’’

बजारमा महँगो भएपछि किसानको बारीमै पुगेर गोलभेडा खरिद गर्ने गरेको उहाँले बताउनुभयो । टनेलबाटनै एकसय २० रुपियाँ प्रतिकिलो गोलभेडा बिक्री गर्दा किसानहरू पनि मख्खै परेका छन् ।

यो मुल्यले किसानलाई राहात पु¥याएको किसान आचार्यको भनाइ छ । ‘यसरी मेहनत अनुसारको मुल्य पाउँदा किसानलाई निरन्तरता दिन हौसला मिल्छ । लगानीको प्रतिफल पाएपछि लगनशील समेत बनाउँछ’, उहाँले भन्नुभयो, ‘यो समयमा परिश्रमअनुसारको फल पाइएको छ । विगतका वर्षमा निकै सस्तोमा बेच्नु परेको थियो ।’

यही मुल्य कायम रहे यसपालि गोलभेडा खेती गरेका किसानले मनग्य आम्दानी गर्ने उहाँको भनाई छ । यसैगरी बेनीमा प्रतिकिलो काउली एकसय २०,बोडी एकसय,घिरौला ६०,करेला ६०,लौका ६०,काक्रो लोक्कल एकसय र सिमी एकसय रुपियाँमा विक्री हुने गरेको छ । तरकारीको मूल्य बढेपछि चर्को मुल्यको मारमा परेको उपभोक्ताको गुनासो छ ।