सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,बैशाख २१ गते ।
म्याग्दीका एक व्यक्ति एकल प्रयासमा चौतारी निर्माण र बरपिपल रोप्ने अभियानमा जुटेका छन् ।
बेनी नगरपालीका ४ खबराका चन्द्रबहादुर कार्कीले एक्लै सार्वजनिक स्थलमा चौतारी निर्माणका साथै सडक र पदमार्गको छेउछाउमा बरपिपल तथा फुलका बिरुवा रोप्दै आउनुभएको छ ।
५८ वर्षिय कार्कीले सार्वजनिक स्थलमा श्रमदान गरेर वरपिपल सहित एक हजार २५० बिरुवा र २३ वटा चौतारी निर्माण गरेका छन् । धर्म र वातावरण संरक्षणका लागि विगत तिन वर्षदेखि सामाजिक काममा जुट्नुभएका कार्की म्याग्दीको अगुवा कृषकको रुपमा पनि चिनिन्छन् ।
व्यवसायिक तरकारी खेतीसंगै बेनपा ६ मंगलाघाटमा फलफुल तथा तरकारी पसल सञ्चालन गरेका कार्कीले बिरुवा रोप्ने, चौतारी बनाउने र बिरुवाको स्याहार सुसारका लागि दैनिक कम्तीमा दुई घण्टा समय खर्चने गरेको बताउनुभयो ।
बेनीको खुल्लामञ्च र मंगलाघाट तर्फबाट खबरा जाने उकालो बाटोका साथै बरपिपल रोपीएको ठाउँमा चौतारी बनाएका छन् । स्वास्थ्य र वातावरणका लागि उपयुक्त हुने, गर्मीमा सितलता प्रदान गर्ने तथा धार्मीक कार्यमा प्रयोग हने भएकाले बरपिपलका बिरुवा रोप्ने कार्यलाई प्राथमिकता दिएको कार्कीको भनाई छ ।
बेनी बजारदेखि मंगलाघाट जाने सडक, हाडेभिर, खबरा जाने बाटो र बेनीदेखि मल्लाज उक्लने पक्कि सिढी सहितको पदमार्ग, महारानीथानको छेउछाउमा बरपिपलका अतिरित्त एक हजार वटा अम्बा, आँप, चिउरी, कल्कीफुल, धुपी, लालुपाते, गोदावरी जातका बिरुवा रोपेको कार्कीले बताए ।
लामो खडेरी भएकाले बिरुवा बचाउन दैनिक रुपमा घर र म्याग्दी नदीबाट पानी बोकेर सिचाई गर्दै आएका छन् । कार्कीले थप विरुवा रोप्ने, रोपेका बिरुवा संरक्षण, स्याहार सुसार गरेर हुर्काउने तथा बरपिपलको धार्मीक बिधी अनुसार बिवाह गराउने लक्ष्य राखेका छन् । कार्कीले वातावरण संरक्षणका लागि गर्नुभएको योगदान सहनीय भएको मंगलाघाटका युवा दिनेश कटुवालले बताउनुभयो ।