ताजा समाचार:
Search

जिफन्ट म्याग्दीको अध्यक्षमा राई

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, वैशाख २० गते ।

नेपाल टे«ड युनियन महासंघ जिफन्ट जिल्ला कार्यसमिति म्याग्दीको दोस्रो जिल्ला अधिवेशनले बलादेवी राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षमा राजकुमार राई, सचिवमा खेमराज सुवेदी र सहचिवमा अर्जुन राना रहेका छन् ।
१२७औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर आयोजना गरिएको अधिवेशनले कार्यसमितिको सदस्यहरुमा लेकमान पाख्रिङ, रमेशकुमार राई, वृन्दा थापामगर, गंगा थापा, गुमादेवी किसान, मनबहादुर विक (मैते) र वुद्धबहादुर किसानलाई चयन गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै व्यवस्थापिका संसदका सांसद नवराज शर्माले देशको विकास निर्माण मजदुरहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले जारी संविधानको कार्यान्वयनसँगै पदेश संरचनाअनुसार देश अघि बढ्ने भएकाले श्रम आयोग गठनका लागि मजदुरहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् ।  IMG_0023
सोही कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले संविधानको मौलिक हकहरुमा प्राप्त अधिकारहरुको उपभोग गर्न गराउन राज्य सक्षम बन्नुपर्ने धारणा राखेका थिए । जिफन्टको गण्डकी–धौलागिरि अञ्चल अध्यक्ष रुद्र खत्रीले संविधान बनेपनि मजदुरहरुका हकअधिकार अझै सुनिश्चित नभएको भन्दै संविधान संशोधन गरेर मजदुरका हक अधिकारको ग्यारेण्टी गर्न माग गरे ।
कार्यक्रमको अवसरमा जिफन्टले निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा युवा व्यवसायी नारायण जिसीलाई सम्मान गरेको थियो । मजदुर र श्रमिकहरुलाई रोजगारी दिनुका साथै आर्थिक, भौतिक र नैतिक सहयोग गरेको भन्दै अबिर, खादा लगाएर सम्मानपत्रले सम्मान गरिएको हो । IMG_0026
जिफन्ट र पेशागत महासंघको संयुक्त आयोजनामा मनाइएको मजदुर दिवस कार्यक्रमको जिफन्ट म्याग्दीका अध्यक्ष गोपाल रिजालको अध्यक्षता, पेशागत महासंघ नेपाल जिल्ला समन्वय समितिका अध्यक्ष भक्त कार्कीको सञ्चालन र नेपाल निजामति कर्मचारी सङ्गठनका जिल्ला सदस्य प्रकाश गुरुङको स्वागतमा सम्पन्न भएको थियो ।
औपचारिक कार्यक्रम शुरु हुनुपूर्व मजदुरहरुले ‘विश्वका मजदुरहरु एक होऔं, रुपान्तरण श्रमशक्तिको विकासबाट, श्रमशक्तिको विकास संविधानको कार्यान्वयनबाट’ भन्ने मूल नारासहित प्लेकार्ड बोकेर नारा लगाई बाजागाजाले सदरमुकाम बेनीको परिक्रमा गरेका थिए ।