अन्नपूर्णलाई सातलाख बराबरका विपद् खोज उद्दार सामाग्री सहयोग

विकल्प न्यूज/बेनी
असार २९ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्दार सामाग्री हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले उत्थानशील, खानेपानी सरसफाई तथा विपद् तयारी कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकालार्य रु ७ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।

शुक्रवार गाउँपालिकामा आयोजित एक कार्यक्रममा गोर्खा वेल्फेयरका विपद् व्यवस्थापन अधिकृत सुमेरु त्रिपाठीले गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा कुमारी तिलिजा पुन र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।


गाउँपालिकाभित्र विभिन्न बस्तीहरु बाढी, पहिरो र नदी कटानको जोखिममा रहेकाले आपतकालिन समयमा उद्धार र खोजको कार्यमा प्राप्त सामाग्रीले सहयोग पुग्ने भन्दै गाउँपालिका अध्यक्ष पुनले सहयोगी संस्थालाई धन्यबाद ज्ञापन गर्नुभएको छ । गोर्खा वेल्फेयरले गाउँपालिकालाई बाढी, पहिरो,आगलागी लगायतका विपद्को समयमा खोज तथा उद्धारमा प्रयोग गर्न सकिने विभिन्न ७३ किसिमका सामाग्री सहयोग गरेको जनाएको छ । गाउँपालिकाले वेल्फेयरले उपलब्ध गराएको सामाग्री बाहेक ४ लाख रुपियाँ बराबरको विपद् व्यवस्थापनका समाग्री समेत खरिद गरेको छ ।
वेल्फेयरबाट प्राप्त सामाग्री र गाउँपालिकाले खरिद गरेको सामाग्रीलाई गाउँपालिकाको विपद् व्यवस्थापनको पूर्व तयारीका लागि आपतकालिन संकट व्यवस्थापन केन्द्रमा राखिने र विपद्को समयमा परिचालन गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।